-डा.अरूणा उप्रेती
माघे सक्रान्तिमा हामी कहाँ घिउ, चाकु, तरूल, तिलको लड्डु र खिचडी खाने चलन छ। यो चलन अहिले होइन, परापूर्व कालदेखि नै चलेको हो। यसलाई हामी बुझेर वा नबुझेर निरन्तरता दिइरहेका छौँ । अहिलेको दृष्टिले हेर्दा त्यति बेला हाम्रा पूर्वजहरूलाई वैज्ञानिक महत्त्वबारेमा ज्ञान थिएन तर स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने सोचले नै यस्ता खानेकुरा खान शुरु गरेका होलान्। पछिल्लो समय ‘जंकफुड्फास्टफुड’ खाने चलन बढेको छ। कम्तीमा हाम्रा यस्ता चाडबाडले भए पनि घरमा बनाइने यस्ता पौष्टिकताले भरिपूर्ण खानेकुरा खाने मेसो मिलाइदिएको छ।
माघे संक्रान्ति अर्थात् माघीमा मासको दाल र चामलको खिचडी बनाएर त्यसमा घिउ हालेर खाने चलनले हाम्रो संस्कृतिलाई जीवित त राख्छ नै, तिनले हाम्रो स्वास्थ्यमा पनि एकदमै राम्रो प्रभाव पार्छ। कुनै दिन विदेशी अनुसन्धानकर्ताले यसरी घिउ, चाकु, खिचडी, तरुलमा पर्याप्त मात्रामा सूक्ष्म पौष्टिक तत्त्व हुन्छ भनेर अंग्रेजी वा जर्मन, भाषामा कार्यपत्र प्रस्तुत गरे भने सायद हाम्रो युवा जमातले त्यस्ता कुरा बोहतामा खान गर्व गर्नेछन्।
तिलमा पाइने क्याल्सियमबारे र त्यसमा रहेको तेलको चिकित्सकीय महत्त्वबारे आधुनिक चिकित्सा जगतमा धेरै नै छलफल हुन्छ तर कुपोषित भएका बालबालिकालाई तिलको सेवन गराउनु उपयुक्त हुन्छ भनेर स्वास्थ्यकर्मीले तिनका अभिभावकलाई भन्न अझै अप्ठ्यारो मानिरहेको अवस्था छ। क्याल्सियम र लौहतत्त्व प्रशस्त मात्रामा पाइने आलस र तिल, आदिको प्रयोग गर्नेबारे त केही भनिँदैन।
तरुलमा कार्बोहाइड्रेट हुन्छ। यसले शरीरमा शक्ति प्रदान गर्छ। यसैगरी चाकुमा क्याल्सियम र आइरन असाध्यै हुन्छ। त्यसैले पनि सुत्केरी भएका बेला महिलालाई चाकु खान दिने चलन छ । यसैगरी चामल र दाल राखेर बनाइएको खिचडी त्यसमा घिउ हालेर खाँदा यसले शरीरलाई चाहिने प्राटिन र चिल्लो पदार्थको पूर्ति गर्छ। जाडोको बेला यस्ता खानेकुराले रोगसँग लड्नसक्ने शक्ति बढाई उर्जा समेत प्रदान गर्छन्। यस्ता जानकारी कृषि मन्त्रालयले अनुसन्धान गरेर लेखिएको पुस्तिकामा पर्याप्त मात्रामा छन्, तर यस्ता विषयमा छलफल गरिएको पाइँदैन।
कुनै दिन विदेशी अनुसन्धानकर्ताले यसरी घिउ, चाकु, खिचडी, तरुलमा पर्याप्त मात्रामा सूक्ष्म पौष्टिक तत्त्व हुन्छ भनेर अंग्रेजी वा जर्मन, भाषामा कार्यपत्र प्रस्तुत गरे भने सायद हाम्रो युवा जमातले त्यस्ता कुरा बोहतामा खान गर्व गर्ने छन्। विभिन्न जातजातिका आआफ्नै चाडपर्वमा आफ्नै विशेष परिकार खाइन्छ। ती सबै स्वस्थकर छन्। नयाँ वर्षको सुरुबाट अन्तिमसम्म प्रत्येक महिना कुनै न कुनै समुदायले कुनै न कुनै पर्व मनाइरहेका हुन्छन्। यस्ता पर्वहरूमा खाने परिकारको विश्लेषण गरी स्वास्थ्यमा पर्ने सकारात्मक असरबारे उल्लेख गर्ने र खान उत्प्रेरणा दिने हो भने बाहिरबाट ल्याइने वस्तुहरू विस्थापित गर्न सकिन्थ्यो।
अर्थात् सूक्ष्म पोषण तत्त्वले भरिपूर्ण स्वस्थकर खाना जताततै छ, प्रयोग गर्नमात्र सिक्नुपर्छ। संस्कृतिसँग जोडिएर आउने यस्ता खानेकुरा चाडबाडमा मात्र होइन मौसमअनुसारप्रत्येक दिन खाने बानी बसाल्न जरुरी छ। यसै दिनदेखि पुनः घरआँगनमै पाइने स्वस्थकर खाना खाने बानी सुरु गर्ने कि !
प्रतिक्रिया दिनुहोस