यी हुन् दाँत स्वस्थ बनाउने ५ तरिका

मंगलबार, २४ पुस २०७५, १९ : ५६
यी हुन् दाँत स्वस्थ बनाउने ५ तरिका

हामी ओरल र डेन्टल हेल्थजस्ता कुरामा लापर्बाही गर्छौं । दाँत खराब हुँदाको असर हाम्रो सम्पूर्ण शरीरलाई पर्छ भन्ने कुरामा सायद हामी बेखबरजस्ता छौँ । हामीमध्ये धेरैलाई लाग्ने गर्छ, दाँतको काम सिर्फ चपाउने र हाम्रो अनुहार राम्रो देखाउने मात्र हो । जबकि, ओरल हेल्थको असर मानिसको समग्र स्वास्थ्यमा पर्दछ ।

यदि, तपाईंको दाँत स्वस्थ छैन भने योसँग सम्बन्धित क्याबिटी (प्वाल पर्ने, खिइने), गिजामा घाउ हुने आदि विभिन्न रोग लाग्न सक्छ । कालान्तरमा यसले क्यान्सरसमेत निम्त्याउन सक्छ । तसर्थ, तपाईं आफ्नो ओरल हेल्थमा सजग हुनुहोस् । यसका लागि हामीले केही टिप्स दिएका छौँ :

 दाँतको मात्र ब्रस नगर्ने
दाँतलाई मजबुत र सेतो बनाउन कम्तीमा दिनको दुईपटक ब्रस गर्नुपर्दछ । यसमा पनि राति सुत्नुभन्दा ठीक अघि र सकभर खाना खाएपछि । ब्रस गर्दा खाली दाँतको मात्र नभएर पूरै मुख सफा हुने गरी गर्नुपर्छ । जिब्रोदेखि गिजासम्मको सफाइ गर्नुहोस् । ताकि, खाएको खानेकुरा मुखको कुनै पनि कुनामा बाँकी नरहोस् ।

 ब्रस गरेपछि कुल्ला नगर्ने
साधारणतया हामी सबै ब्रस गरिसकेपछि पानीले मुख कुल्ला गछौँ । दन्तचिकित्सकका अनुसार यस्तो गर्नु दाँतको स्वास्थ्यका लागि ठीक होइन । योभन्दा बरु कम टुथपेस्ट प्रयोग गर्ने, कुल्ला नगर्ने गर्दा राम्रो । यसो गर्दा टुथपेस्टमा भएको पदार्थले मुखमा रहेका कीटाणुलाई मारिदिन्छ । तर, माउथवासपछि कुल्ला गर्दा केही फरक पर्दैन ।

 सुगरजन्य पदार्थ नखाने
जुन पेयपदार्थमा सुगरको मात्रा बढी हुन्छ, तिनले दाँतलाई असर गर्छन् । यतिसम्म कि सुुगरफ्री ड्रिंक्समा समेत सोडा तथा अन्य फिँज आउने पदार्थ हुन्छ । यसले दाँतमा क्याबिटीको खतरा हुन्छ । फिँज आउने पेयपदार्थमा बढी मात्रामा कार्बोनिक एसिड हुन्छ । यसले दाँतको आवरणमा नोक्सान पु-याउँछ ।

 मादकपदार्थबाट टाढा
एउटा अध्ययनअनुसार मादकपदार्थ सेवन गर्दा क्याबिटी र गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ । अझ, यदि तपाईं राति रक्सी पिएर सुत्नुहुन्छ भने त यसले दाँतमा झनै खराबी गर्छ । सो समयमा रक्सीका कारण झनै ब्याक्टेरिया सक्रिय हुन्छन् ।

 नियमित चेकअप
जबसम्म हाम्रो दाँत दुख्दैन वा क्याबिटी हुँदैन, तबसम्म डेन्टिस्टकहाँ नजाने हाम्रो बानी छ । यो गलत हो । सकभर दाँतसम्बन्धी गम्भीर रोग लाग्नुभन्दा अघि नै डाक्टरकोमा जानुपर्छ । यदि तपाईंलाई दाँतसम्बन्धी गम्भीर रोग नै लागेको भए पनि नियमित चेकअपमा गएको खण्डमा समयमै ठीक हुन्छ । तपाईं दन्तक्यान्सरजस्तो ठूलो खतराबाट बच्न सक्नुहुनेछ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस