भरतपुर अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाइने

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०७५, २० : ०७
भरतपुर अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाइने

चितवन l नेपाल सरकारको पुस १३ र १६ गते वसेको मन्त्री परिषदको बैठकले भरतपुर अस्पतालसहित पाँच वटा अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालमा रुपान्तरण गर्ने सैद्धान्तिक स्वीकृति दिएको छ ।

स्वीकृति पाउने अस्पतालहरुमा कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र डडेलधुरा उपक्षेत्रीय अस्पताल रहेका छन् । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाद्वारा बिहीबार जारी विज्ञप्तिमा यी अस्पतालहरुको स्तरोन्नतिको लागि सैद्धान्तिक स्वीकृति दिइएको हो ।

भरतपुरको जिल्ला अस्पतालले अब विशेषज्ञ अस्पताल सरहको सेवासुविधा दिने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलका अनुसार अस्पतालमा अब न्यूरोसर्जरी, ग्याष्टोसर्जरी, स्पाईनल सर्जरी, कार्डियोभास्कुलर सर्जरी, एनआईसीयु÷पीआईसीयु  सेवा लगायत अन्य विशेषज्ञ सेवा थपिने छ । 

जिल्ला अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालले यसअघि नै विशेषज्ञ सेवा दिँदै आएको भएपनि अहिले बल्ल मान्यता प्राप्त गर्न सफल भएको उहाँले बताउनु भयो । योसंगै विशेषज्ञ चिकित्सकहरुको दरबन्दी थप हुने उहाँले जानकारी दिनुभयो । मेडिकल सुपरिटेण्डेण्ट पौडेलका अनुसार अहिलेसम्म सरकारद्वारा अस्पतालमा तीन सय शैया संञ्चालन हुँदै आएकोमा अब २ सय शैया थप हुनेछ । 

२०१३ सालमा स्वास्थ्य केन्द्रको रुपमा सुरु भएको भरतपुर अस्पतालले २०२० सालमा पहिलो पटक २५ शैयाको अस्पतालको मान्यता प्राप्त गरेको थियो । यस्तै २०६६ सालमा एक सय शैयाबाट स्तरोन्नति भई तीन सय शैयामा पुगेको थियो । अहिले पाँच सय सैया सरकारले सञ्चालन गर्ने पौडेलले बताउनु भयो ।

तीन सय शैयाको अस्पताल हुँदा पनि भरतपुर अस्पतालमा अस्पताल विकास समितिका तर्फबाट थप तीन सय शैया गरी ६ सय शैयामा सञ्चालन हुँदै आएको थियो । पौडेलका अनुसार अस्पतालमा दैनिक १ हजार ५ सय जना बिरामीले बहिरंग सेवा लिने गरेका छन् । अस्पतालमा रहेका शैयामध्ये ८० प्रतिशत शैया नियमित भरिभराउ हुने गरेको उहाँले बताउनु भयो । 

भरतपुर अस्पतालको स्तरोन्नतिका लागि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको समेत विशेष पहल रहेको दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महानगर प्रमुखको विशेष पहलमा भरतपुर अस्पतालको स्तरोन्नति सम्भव भएको हो’ उहाँले भन्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस