विश्व एड्स दिवस

चितवनमा रगत परीक्षणदेखि कण्डम वितरणसम्म

सफल खबर संवाददाता

शनिबार, १५ मंसिर २०७५, १५ : ४७
चितवनमा रगत परीक्षणदेखि कण्डम वितरणसम्म

चितवन । चितवनमा तीन दिनमा ५४४ जनाको एचआईभी परीक्षण भएको छ । ५४४ जनाको एचआईभी परीक्षण भएकोमा ५ जनामा एचआईभी पोजेटिभ देखिएको छ । 
भरतपुर अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय भरतपुरको संयोजनमा एएचएफ नेपालले चितवनका विभिन्न ठाउँमा रगत परीक्षण गरेको एएचएफ क्षेत्रीय रिजनल प्रोग्राम कोअर्डिनेटर कृष्णहरि सापकोटाका जानकारी दिनुभयो । तीन दिनसम्म रत्ननगर, भरतपुर कारागार र भरतपुर अस्पताल रोडमा रगत परीक्षण गरिएको एएचएफका कर्मचारी धिरेन्द्र अधिकारीले जानकारी दिनुभयो । 
कारागारमा ३७३ जनाको एचआईभी परीक्षण गरिएको थियो । ३७३ जनामध्ये ३ जनालाई एचआईभी पोजेटिभ देखिएको एएचएफले जनाएको छ । 
मंगलपुरको पिटुसिटुमा रहेका २२ जना सडक बालबालिकाहरुको पनि एचआईभी परीक्षण गरिएको थियो । रत्ननगरको अस्पतालमा १२९ जनाको परीक्षण भएको थियो । भरतपुर अस्पताल रोडमा विभिन्न बुथ बनाएर गरिएको एचआईभी परीक्षणमा दुई जनामा पोजेटिभ देखिएको एएचएफले जनाएको छ । 

एएचएफ नेपालको तथ्यांकअनुसार नेपालमा २००७ सालदेखि हालसम्म संक्रमितको संख्या १९ हजार ७०२ पुगेको छ । अझै पनि रोगबारे खुल्न नचाहने हुँदा बिरामीको संख्या बढी हुन सक्ने एएचएफले जनाएको छ । चितवनको भरतपुर अस्पतालस्थित एआरटी सेन्टरको तथ्यांकअनुसार चितवनमा हालसम्म १३ हजार ३७२ जनाले एचआईभी परीक्षण गरेका छन् । परीक्षण गरिएकामध्ये अस्पतालमा ८५ र समुदायमा १० गरी ९५ जनामा एचआईभीको संक्रमण भएको पत्ता लागेको भरतपुर शाखाले जनाएको छ ।
यस्तै, १७ जनालाई भने एचआईभी र टिबी दुवैको संक्रमण भएको शाखाको तथ्यांकमा उल्लेख छ । सन् २००७ देखि हालसम्मको तथ्यांक हेर्दा भरतपुर अस्पतालको एआरटी सेन्टरमा ८५६ जना पुरूष, ६६३ जना महिला र १३० जना बालबालिका गरी कुल एक हजार ६४९ जनाले दर्ता गराएका छन् ।
यसैगरी भरतपुर महानगरको स्वास्थ्य शाखा, जिल्ला स्वास्थ्य कार्यालय र सहभागी संस्थाले पोखरा बसपार्कमा निःशुल्क कण्डम वितरण गरेको छ । ३१ औं विश्व एड्स दिवसको अवसरमा निःशुल्क कण्डम वितरणका साथसाथै जनचेतना दिइएको थियो । उक्त कार्यक्रममा २१ जनाले एचआईभी परीक्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस