मनकामना केबुलकार एक्काइसौं वर्षमा प्रवेश

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १३ : २०
मनकामना केबुलकार एक्काइसौं वर्षमा प्रवेश

चितवन । मनकामना दर्शन प्रालिद्वारा संचालित नेपालको पहिलो केबुलकार मनकामना केबुलकार एक्काइसौं वर्षमा प्रवेश गरेको छ । मनकामना केबुलकारले सन् १९९८ नोभेम्बर २३ तारिखबाट सेवा शुरु गरेको थियो ।

मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले एक्काइसौँ वर्ष प्रवेशको सन्दर्भमा कुराकानी गर्दै मनकामना केबुलकार प्रालिले देशका अन्य पर्यटकीय क्षेत्रमा पनि केबुलकारको बिस्तार गर्ने योजना छिटै घोषणा गरिने बताउनु भयो । उहाँले चितवन र गोरखामा रहेका वक्रेश्वर महादेव, लखन गुफाजस्ता ऐतिहासिक र धार्मिक स्थलमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सोच बनाइरहेको जानकारी दिनुभयो ।

मनकामना दर्शन प्रालिका प्रबन्धक डीएन कायस्थका अनुसार केबुलकारले सेवा सञ्चालनको २० वर्षमा १ करोड ३९ लाख २५ हजार तीन सय तीन जना यात्रुलाई सेवा दिएको छ । चितवन कोई समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि.द्वारा सञ्चालित मनकामना केबुलकार आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । यसलाई ट्रिप एड्भाइजरले निरन्तर चौथो वर्ष २०१८ का लागि उत्कृष्ट सेवाको प्रमाणपत्र दिएको छ ।

चितवनको कुरिनटारबाट दस मिनेटमा गोरखाको मनकामना मन्दिरसम्म पुग्ने गरी २०५५ सालमा स्थापना भएको मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो । गतवर्षदेखि काठमाडौंको चन्द्रागिरीमा अर्को केबुलकार सञ्चालनमा आएको छ । कास्कीको सराङकोटमा पनि केबुलकार निर्माणाधीन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस