सरकार नढलोस्, कतिसम्म गिर्दो रहेछ हामी हेर्न चाहन्छौं : मनिष झा

सफल खबर संवाददाता

आइतबार, १४ बैशाख २०८२, १३ : १८
सरकार नढलोस्, कतिसम्म गिर्दो रहेछ हामी हेर्न चाहन्छौं : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले वर्तमान सत्ता गठबन्धन नढलोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमा रहेका सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म जान्छ हेर्नका लागि समेत नढलोस् भन्ने चाहना रहेको बताएका हुन् ।

‘… तर, सत्ता गठबन्धन ढल्न हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्दछ भन्ने हाम्रो कामना छ । किनभने, अझै धेरै हामीले देख्न बाँकी छ । हामी देख्न चाहन्छौं, कि कतिसम्म गिर्दो रहेछ । गिर्ने स्थान कति बाँकी रहेछ । त्यो देख्न चाहन्छौं । त्यसैले गर्दा पनि यो गठबन्धन नढलोस्, टिकिरहोस् भन्ने हाम्रो कामना छ,’ सांसद झाले भने ।

वर्तमान सरकार बनाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेबीच गत १७ असारमा ७ बुँदे सहमति भएको थियो । उक्त सहमतिको आधारमा तत्कालीन सत्ता गठबन्धन बदलिएपछि ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

सांसद झाले वर्तमान सरकार बन्दा दुई ठूला दल बीच भएको ७ बुँदे सहमतिको कार्यान्वयनको विषय पनि उठाए । उक्त सहमति सत्तारुढ दलले नै बिर्सिएको उनले आरोप लगाए । सरकारले आफ्नो आयुको भन्दा उपलब्धिको चर्चा गरे हुन्थ्यो भन्ने चाहना समेत आफूहरूको रहेको उनले बताए ।

विश्व अर्थतन्त्र, चीन र अमेरिकाबीच अर्थतन्त्रलाई लिएर चलिरहेको रस्साकस्सी, पाकिस्तान र भारतबीच रहेको सम्भावित युद्धलाई ख्याल गरेर नेपालले आफ्नो अर्थ नीति ख्याल गर्नुपर्ने उनको आग्रह छ । तर, सरकार चुरोट र रक्सीको लाइसेन्स कतिमा बेच्ने भनेर लागिरहेको सांसद झाले आरोप लगाए ।

कांग्रेस र एमालेका बीचमा भएको ७ बुँदे सहमतिमा जे जस्ता विषय लेखेता पनि खास चाहना के थियो भन्ने जनताले थाहा पाउँदै गएको उनले बताए ।

सहकारीको समस्या समाधान गर्ने नाममा नयाँ आएको दलको नेतालाई थुन्ने, स्थानीय तहलाई सहजीकरणको नाममा काठमाडौं महानगरका मेयर बालेन शाह लगायताई अवरोध गर्ने सहमति कांग्रेस र एमालेका बीचमा भएको उनले बताए ।

आफ्नो मान्छे नियुक्त गर्न काम गरिरहेका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सत्ता गठबन्धनको सहमति पनि कार्यान्वयनमा गएको भनेर कटाक्ष गरे ।

गभर्नर नियुक्त गर्दा दक्षता, क्षमताको आधारमा नभएर कुन कोटामा कुन बिचौलियाको सिफारिसका आधारमा गर्ने, सदनलाई प्रभावकारी नबनाउने लगायत रहेको नियत सत्ता गठबन्धनको रहेको र यसअनुसार काम गरिरहेको उनले बताए ।

कांग्रेस र एमालेले वर्तमान व्यवस्था विरोधीलाई सत्तामा आउने वातावरण बनाउने र अस्थिरता निम्त्याउन चाहेको र यसमा सरकार सफल भएको भन्दै कटाक्ष गरे । हरेक नियुक्तिमा सत्ता गठबन्धनको दरिद्रता देखिँदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस