सांसद माया राईविरुद्ध पूरक अनुसन्धान, आज म्याद थप गरिँदै

सफल खबर संवाददाता

आइतबार, १४ बैशाख २०८२, ११ : ०१
सांसद माया राईविरुद्ध पूरक अनुसन्धान, आज म्याद थप गरिँदै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान गर्ने भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिवार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् ।

उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको रकम अपचलनमा संलग्न भएको आरोप छ । उनीविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा पूरक अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले  बताए ।

उनले भने, ‘आज अदालतबाट म्याद लिएर पूरक अनुसन्धान अघि बढाउँछौँ।’भोजपुर घर भएकी राई नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन् । उनले सुरुमा स्वर्णलक्ष्मीको सदस्य र पछि सहसचिव भएर काम गरेकी थिइन् ।

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाएर प्रहरीले यसअघि नै जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ। प्रहरीले २०८१ पुस २१ मा सङ्गठित रूपमा ठगी गरेको कसुरमा पहिलो पटक अभियोगपत्र दायर गरेको थियो ।

राईविरुद्ध पनि ठगी र सङ्गठित अपराध मुद्दामा म्याद लिएर बयान लिइने एसपी बोहराले जानकारी दिए । उनले भने, ‘म्याद थप गरेपछि बयान लिने र थप प्रमाण सङ्कलन गरेर पूरक अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्छौँ ।’ 

प्रतिक्रिया दिनुहोस