काठमाडौँ। राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज नेपाल आउँदैछन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार अस्ट्रेलियन स्टुअर्ट ल आज काठमाडौँ आइपुग्ने भएका हुन् । गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आउन लागेका हुन् ।
५६ वर्षीय लको पदावधि अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्टको इन्ट्री भएको हो ।
अनुभवी प्रशिक्षक लले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ।
नेपाली क्रिकेट टोलीमा प्रशिक्षण गर्ने उनी दोस्रो अस्ट्रेलियन हुनेछन् । यसअघि सन् २०२१ मा डेभ वाटमोर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ११ : ५४
लेखकबाट थप