कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्नः जनार्दन शर्मा

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, ०७ : ५२
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्नः जनार्दन शर्मा

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का उपमहाचसिव जनार्दन शर्मा प्रभाकरले केही व्यक्तिहरुलाई हिरासतमा थुनेर जनतामा छाएको निराशा हटाउन नसकिने टिप्पणी गरेका छन् । 

रुकुम पश्चिमको आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानमा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
राजावादी आन्दोलनप्रति टिप्पणी गर्दै शर्माले सरकारले राम्रो काम गर्न नसक्दा जनतामा उत्पन्न भएको आक्रोसको अभिव्यक्ति मात्र भएको टिप्पणी गरे ।

"वर्तमान सरकार, ठूला राजनैतिक दल र नेताहरुले राम्रो काम गर्न नसक्दा जनतामा निराशा र आक्रोस उत्पन्न भएको छ । त्यसलाई रोक्ने उपाय भनेको आफूलाई सुधारेर जनताका असन्तुष्टी संवोधन गर्ने हो” उनले भने "कसैलाई हिरासतमा थुन्नु समस्याको समाधान हैन ।”  सरकार परिवर्तनको भद्दा खेलखण्ड, कुर्सीको तानातान, भ्रष्टाचार र वेरोजगारीको समस्याले जनतामा वितृष्णा जागेकोले राजावादीहरु हौसिएको उनको भनाइ छ ।

राजनैतिक दल र नेताहरुले गंभीर समीक्षा गरेर आफूलाई सुधार्नेहो भने राजावादी नामको आन्दोलन स्वतः निस्क्रिय हुने उनको तर्क छ । उपमहासचिव शर्माले वर्तमान ओली सरकारलाई पहलकदमी गुमाएको सरकारको संज्ञा दिए ।

शिक्षक आन्दोलन सम्वोधन गरेर शिक्षकहरुलाई कार्यक्षेत्रमा फर्काउन नसक्ने, शैक्षिक सुधारको लागि कुनै आशाजनक काम गर्न नसक्ने, रोजगारी सृजनाको लागि सिन्को नभाँच्ने सरकारी रवैयाको कारण देशमा अराजकता मौलाएको नेता शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस