एमालेको विशेष सभालाई तीन पदाधिकारी लगायतले सम्बोधन गर्ने

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०८१, १३ : ५१
एमालेको विशेष सभालाई तीन पदाधिकारी लगायतले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गर्न लागेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारी लगायतले सम्बोधन गर्ने भएका छन् ।

आगामी चैत २९ गते धनगढीमा हुने बृहत् विशेष सभामा नेकपा एमालेको उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोख्रेल र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रदेश उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन् ।

प्रदेश कमिटी सचिवालयको छैटौँ बैठकले बृहत् विशेष सभाको तयारी तीव्र बनाउने निर्णय गर्दै र सम्बोधन गर्ने नेताहरूको बारेमा जानकारी गराइएको थियो ।

‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र अराजकताविरुद्ध आयोजन गर्न लागिको कार्यक्रम भव्य बनाउने गरी तयारी गर्ने छलफल भएको छ’ उपसचिव विष्टले भनिन्, ‘केन्द्रीय तीन पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ’

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रूपमा कैलालीमा सभा आयोजना गर्न लागिएको उनले बताइन् ।

सभामा सबै तहका नेता, कार्यकर्ता, तथा परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुने गरी व्यवस्था गर्न सचिवालय बैठकमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले बताएका थिए ।

पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रूपमा लिएको छ।सचिवालय बैठकमा सभाको व्यवस्थापन र तयारीसहित पार्टीलाई अझै जनमुखी केन्द्रित बनाउने बारे छलफल भएको थियो । स्ववियु निर्वाचनको समीक्षा गर्दै बाकी रहेका कलेजहरूमा अखिललाई जिताउने गरी लाग्ने, अधिवेशन गर्न वाकी रहेका सबै कमिटीहरूको वैशाख १५ सम्म अधिवेशन सम्पन्न गर्ने, सदस्यता नवीकरण र अनलाइन अभिलेखीकरणलाई अगाडी बढाउने सचिवालयले निर्णय गरेको छ ।

पार्टी गतिविधि विरुद्ध लागेको भन्दै एमाले प्रदेश सल्लाहकार गोविन्द कुवरलाई कारबाही गर्न सचिवालय बैठकले केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस