चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०८१, ०८ : २३
चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान

तनहुँ । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनले धान आयातलाई कम गराउने लक्ष्यका साथ अनुदानको व्यवस्था गरिएको बताए ।

‘चैते धानखेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएकाले प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो, उर्वरभूमिमा नै खेती गर्न छाड्दै गएको पाइन्छ’, उनले भने, ‘विशेषगरी खेतीयोग्य जमिन बाँझो राख्ने अवस्थामा पुगेपछि यस कार्यक्रमले किसानलाई सहयोग पुग्नेछ ।’ कृषि पेसामा आकर्षित गर्न पनि यसले टेवा पुग्ने सूचना अधिकारी परियारको भनाइ छ ।

सूचना अधिकारी परियारका अनुसार कार्यक्रमअन्तर्गत ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था छ । दुई हजार ९४० रोपनी खेतमा चैते धानखेती गर्न १३ वटा कृषक समूह तथा सहकारी यस कार्यक्रममा समावेश भएका छन् ।

कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन भएको छ । कृषक समूह तथा सहकारीसँग सम्झौतासमेत भइसकेको केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनीटिलर तथा ट्रयाक्टरमा अनुदानको व्यवस्था गरिएको छ । सिँचाइ (कुलो) निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

चैते धान विशेषगरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको सूचना अधिकारी परियारको भनाइ छ । किसानबाट माग धेरै आए पनि बजेट कम हुँदा सबैलाई समेट्न समस्या भएको उनले बताए ।

जिल्लाका ठूला फाँट सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँटलगायत स्थानमा रोपाइँ भइरहेको छ । उनले भने, ‘हालसम्म सिञ्चित क्षेत्रको ८५ प्रतिशत चैते धान रोपाइँ सकिएको छ ।’

प्रतिक्रिया दिनुहोस