काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गरेका छन् ।
सम्बोधनको पूर्णपाठ :
सम्माननीय सभामुख महोदय,
१-मित्रराष्ट्र थाइलाण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागिता
भोलिबाट मित्र राष्ट्र थाइल्याण्डमा मेरो औपचारिक भ्रमण हुँदैछ । कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ बर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक औपचारिक भ्रमण हुँदैछ । यस बीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको त्यस्तो अवस्था रहेछ । त्यसलाई अन्त्य गर्नका लागि यस पटक औपचारिक भ्रमण नेपालको तर्फबाट पहिलो पटक कार्यकारी प्रमुखको पहिलो पटक हुँदैछ । यस अर्थमा यो भ्रमण आफैँमा महत्त्वपूर्ण हो भन्ने ठान्दछु । भोलि १९ गते (अप्रिल १) मेरो भ्रमण टोली बैंककतर्फ प्रस्थान गर्नेछ ।
-२० गते हाम्रो औपचारिक भ्रमण सुरु हुन्छ । भ्रमणको क्रममा महामहिम प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुन्छ ।
-यस पटक पर्यटन र संस्कृतिको सन्दर्भमा २ वटा समझदारी पत्रमा हस्ताक्षर हुन्छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
-द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्रीसँगै मैले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछु ।
-थाइल्याण्डका नरेशसँगको भेटपछि एक दिने औपचारिक भ्रमण समाप्त हुनेछ ।
-२१ गते (३ अप्रिल) बिहान थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग मेरो भेटघाट र छलफल हुनेछ । दिउसो एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मैले सम्बोधन गर्नेछु ।
-साँझ हुने बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुने छु ।
-समयको चाप छ, अधिकांश सदस्य देशका नेताहरू २१ गते मात्र बैंकक आइपुग्ने तालिका छ । तर पनि शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ ।
-२२ गते हामी बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछौँ । बिहान मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछु । दिउसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
-साँझ दूतावासमा हुने कार्यक्रमसँगै हाम्रो भ्रमणका कार्यक्रम सकिने छन् ।
-२३ गते हामी स्वदेश फर्किने छौँ ।
यस भ्रमणका दुई वटा उद्देश्य मैले भनेँ, एउटा औपचारिक भ्रमण र अर्को विमिस्टेक शिखर सम्मेलनमा सहभागिता । यसै सन्दर्भमा अरु केही साइड लाइनका कामहरू हुने मैले यस गरिमामय सदनसमक्ष जानकारीका लागि निवेदन गरेको छु ।
२. समसामयिक विषय
-गत चैत १५ गते २ वटा राजनीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध– आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरूलाई सचेत गराएको थियो ।
-यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘समाजवादी मोर्चा’ले काठमाडौँको प्रदर्शनी मार्गमा भव्य सभा गर्यो । आफ्नो धारणा सार्वजनिक गर्यो । सरकारलाई खबरदारी गर्यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो ।
-शालीन जुलुस सहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु । काठमाडौँको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो।
त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।
-तर तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमाण्डर” आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुंगामुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरिए ।
– हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो ।
-यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै करभमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुने छ ।
-घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छु ।
-यस घटनको पृष्ठभूमिमा करिव १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ । सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्त्व त्यसै बेलादेखि क्रियाशील थियो । मौका खोजी रहेको थियो । धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदना माथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो ।
-यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँ ठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत-सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमाण्डर” तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो ।
-प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ । त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो । हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद/व्यवस्थापन गर्नु भएको थियो ।
-(बोल्दा बोल्दा राप्रपाका सांसदले होहल्ला गरेपछि)’नियमावलीको होइन, यहाँ संविधान उल्लघंन गर्ने, मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु । सबैले यस देशमा व्यवस्था मान्नु पर्छ, व्यवस्था मान्नु पर्छ । हल्ला गरेको भरमा राजनीति र संसद सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन ।
-आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट-शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?
-यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।
३. शासन/प्रशासन
-केही दिनयता संसद अवरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो ।
-तर अहिले विषय सामान्य छ, एक जना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अवरुद्ध छ, महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ ।
-राष्ट्रसेवक कर्मचारीहरूको गुण/दोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ ।
-यत्ति चाहिँ भनौँ, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन । विभागीय मन्त्रीको फिलिङ सही कि गलत, त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला ।
-त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गरिन्छ । यो अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ । अहिले पनि भएको छ, जहिले पनि भएको छ । चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ । भइरहेको छ ।
-अहिले यस विषय सम्मानित अदालतमा विचाराधीन छ । यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ ।
-त्यसैले यस विषयमा मलाई लाग्छ थप बहस नगरौँ, अहिलेको परिस्थितिमा ससाना विषयहरूमा ठूलो बहस विवाद चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन । अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो । त्यसका लागि सिंगो सदन एक हुनुपर्ने आवश्यकता छ । हामीले सुनेका छौँ, व्यवस्थाका विरुद्ध, प्रणालीका विरुद्ध, लोकतन्त्रका विरुद्ध, संविधानका विरुद्ध लर्लकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुग्ने गम्भीर अपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरू भइराखेका छन् । यस्तो बेलामा सिंगै समाज गम्भीर हुनुपर्दछ । यस्तो बेलामा सिंगै समाज गम्भीर भएर यस्ता कुराहरूलाई हामी जनप्रतिनिधि हौँ । संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विपरीतको कुरा हो । नैतिकता विपरीतको कुरा हो । त्यसकारण शपथ विपरीत जानु हुँदैन । नेपालको संविधानको शपथ हामी सबैले उभिएर लिएका हौला । संविधानको शपथ लिने, अनि संविधानको खिलाप लिने, संविधानभन्दा माथि शपथ कसैले देश र जनताका नाममा लिएका हौला, कसैले ईश्वरका नाममा लिएका हौला । ईश्वरका नाममा शपथ लिएर संविधानको शपथ लिएर, ईश्वरका नाममा शपथ खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले ? त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौँ । अहिले यति नै भनौँ ।
सबैलाई धन्यवाद ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानबारे प्रधानमन्त्री- अदालतमा विचाराधीन मुद्दामा बहस नगरौँ
राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने ठाउँ संसद हैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले गरे कुमारी देवीको दर्शन
एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गरियो : प्रधानमन्त्री ओली
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस