दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, १० : ०२
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा

काठमाडौँ ।  पूर्वन्यायाधीश ईश्वर खतिवडाले वंशाणुगत शासनमा समर्पित हुने दास मानसिकता बोकेको विचारबाट कुनै परिवर्तन सम्भव नहुने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'राजनीतिक परिवर्तनका लागि गरिने आन्दोलनका लागि लोकप्रिय, समय सापेक्ष विचार, दर्शन र आदर्श अगाडि सार्नु पर्दछ । पुरानो, बासी र युगौँ परीक्षण भैसकेको वंशाणुगत शासनमा समर्पित हुने दास मानसिकता बोकेको विचारबाट कुनै परिवर्तन सम्भव छैन । '

उनी थप भन्छन्–'न सार्वजनिक रूपमा खपत हुने सिद्धान्त छ, न समर्पण छ, न अनुशासन छ, न कुनै निष्ठा नै छ । न राजनीतिक चेतनाको तालीम छ, न आन्दोलन गर्ने सामान्य तौरतरिकाको ज्ञान छ । न विगत राम्रो थियो, न आगत आशालाग्दो छ । कसैलाई सत्ता गएको पीडा छ, कसैमा सत्ताको लोभ छ, कसैमा प्रतिशोधको भावना छ, कसैमा लुटेर खाने मौकाको खोजी छ । व्यक्तिको जयजयकार गाएको भरमा सत्ताको न्यानो अनुभव गर्नेहरूले भजन मण्डलीहरूको बलमा राजनीतिक आन्दोलन गर्ने कुरा आफैमा अनौठो छ । '

उनी प्रश्न गर्छन्– 'यस मुलुकमा सदियौँ पारिवारिक शासन थियो होइन र ? अरू कारण जे सुकै भनिएपनि १०४ वर्ष शाह र राणा दुई वटा परिवारले सत्ता साझेदारी गरेको होइन र ? ३० वर्षे मण्डले ताण्डवबाट पैदा भएको कहर पनि देखेको र सुनेको होइन र ? हामी नेपालीहरूको स्मरण शक्ति कमजोर भएर हो कि हामी धेरै क्षमाशील भएर हो ? विगतको घाउको टाटो पनि मेटिँदै गएको जस्तो देखिँदै छ । नेपाली जनताले कति खालका, कति वटा र कहाँ कहाँका राजनीतिक पसलहरू चाहर्ने हो ?'

सिर्जनात्मक सुधार र परिवर्तनको वैधानिक बाटो छाडेर जङ्गली उद्दण्डता देखाई गरिने कामको परिणाम दुर्भाग्यपूर्ण नै हुने उनले बताएका छन् ।  लोकतन्त्रको विकल्प उदार लोकतन्त्र मात्रै भएकोले अरू कुनै तन्त्रको रहर टिकाउ र बिकाऊ बन्न नसक्ने उनको जिकिर छ । 

प्रतिक्रिया दिनुहोस