राजावादीहरूले मैले जीवनभर गरेको संघर्षमाथि आक्रमण गरे : मोहन वैद्य

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०८१, १० : १४
राजावादीहरूले मैले जीवनभर गरेको संघर्षमाथि आक्रमण गरे : मोहन वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले राजावादीहरुले राजनीतिक बेइमानी गरेको बताएका छन् ।

उनले वक्तव्य जारी गर्दै आफूलाई राजसंस्था पुनर्स्थापना गर्नपर्ने पक्षमा रहेको भनी गलत प्रचारबाजी गरेको बताउँदै त्यसको कडा शब्दमा खण्डन गरेका हुन् ।

राजवादीहरूले केही निकट मिडियाका साथै सामाजिक सञ्जालमा ‘मोहन वैद्य वर्तमान परिस्थितिमा राजसंस्था पुनर्स्थापनाको पक्षमा’ भनी प्रचार गराएका थिए ।

यसै विषयमा वक्तव्य जारी गर्दै महासचिव किरणले राजावादीहरुले जीवनभर गर्दै आएको संघर्षप्रतिको आक्रमण भएको बताएका हुन् । ‘यो नयाँ जनवादी गणतन्त्रको खुडकिलो पार गरी वैज्ञानिक समाजवाद तथा साम्यवादप्रतिको मेरो अटुट आस्था, विश्वास र त्यसका लागि मैले जीवनभर गर्दै आएको सङ्घर्ष प्रतिको आक्रमण मात्र होइन, राजनीतिक बेइमानी समेत हो’, उनले उल्लेख गरेका छन् ।