स्वास्थ्यकर्मीको तालिमका लागि प्रसूति अस्पतालमा सिमुलेसन ल्याबको स्थापना

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, १४ : ५७
स्वास्थ्यकर्मीको तालिमका लागि प्रसूति अस्पतालमा सिमुलेसन ल्याबको स्थापना

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

अस्पतालको कुपण्डोलस्थित भवनमा स्थापना गरिएको ल्याबको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्‌घाटन गरेका छन् ।

अस्पतालका निर्देशक डा.अधिकारीका अनुसार नर्सिङ, अनमी, मिडवाइफ तथा चिकित्सकहरूको सिकाइका लागि ल्याबको उपयोग हुनेछ । कुनै बिरामीलाई असर नपुर्‍याइकन उपचारका अभ्यास सञ्चालन गर्न गरिन्छ ।

ल्याब स्थापनाका लागि अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिटी वन हार्ट वर्ल्डवाइडले आर्थिक सहयोग गरेको हो ।यो ल्याबले मातृ शिशु उपचारमा संलग्न सबै जनशक्तिलाई स्तरीय तालिम प्रदान गर्न सहजता हुने डा.अधिकारीले बताए ।

ल्याब उद्‍घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।‘यो ठूलो कुराजस्तो नदेखिएला’ मन्त्री पौडेलले भने, ‘तर मातृ-शिशुको सुरक्षामा यसले पहिलो महत्वपूर्ण शुरुवात गरेको छ ।’

अस्पतालले प्रतिष्ठानसरह मातृ-शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए ।‘हामी अब बाँकी ६ प्रदेशमा पनि मातृ शिशुको विशिष्टकृत उपचार र जनशक्ति विकासका काम क्रमैसँग अघि बढाउनेछौं’ उनले भने ।

मातृ-शिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने घोषणा समेत मन्त्री पौडेलले गरे ।वि. स‍ं. २०१६ सालमा स्थापित अस्पतालले हाल करिब पाँच सय शैय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ । मन्त्री पौडेलले जिम्मेवारी सम्हालेयता अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवा अन्तर्गत निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरु गरेको निर्देशक अधिकारीले बताए ।

पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको निर्देशक अधिकारीले सुनाए ।

बर्थिङ सेन्टरको क्षमता वृद्धि

अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्‍घाटन गरेका छन् । यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ । दुई मिडवाइफ अधिकृत थपिएपछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस