चितवनमा चैत २ देखि राष्ट्रिय महिला फुटबल हुँदै

सफल खबर संवाददाता

विहीबार, २९ फागुन २०८१, १५ : ४०
चितवनमा चैत २ देखि राष्ट्रिय महिला फुटबल हुँदै

चितवन । चितवनमा चैत २ गतेदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो ।

भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ९ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । प्रतियोगितामा एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चितवन, मकवानपुर, रौतहट, बागमती र संकटा क्लब सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा चितवन र मकवानपुर भिड्नेछन् । खेल दिउँसो २ बजे हुने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनमा प्रवेश नि:शुल्क गरिएको छ । यस्तै पहिलो चरणमा ५०, सेमिफाइनलमा एक सय तथा फाइनलका लागि दुई सयको टिकटको व्यवस्था गरिएको संघका अध्यक्ष कार्कीले बताए । प्रतियोगिताको तयारी तीव्र गतिमा भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस