देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानमा सरकारको ध्यान पुगेन : कप्तान रोहित

सफल खबर संवाददाता

विहीबार, २९ फागुन २०८१, १३ : ०९
देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानमा सरकारको ध्यान पुगेन : कप्तान रोहित

देउखुरी । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा जारी छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा गत फागुन २५ गतेदेखि एकैपटक सञ्चालन गरेको हो ।

चैत १६ गतेसम्म हुने उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताका सबै पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशका दुई जिल्लामा संचालन भइरहेको छ । जसमा दाङ लमहीको क्रिकेट मैदान, रुपन्देही तिलोत्तमाको एक्स्ट्राटेक ओवल क्रिकेट मैदान र भैरहवाको सिद्धार्थ रंगशालामा क्रिक्रेट प्रतियोगिता सञ्चालन भइरहेको छ ।

काठमाडौं बाहिर रहेका विभिन्न प्रदेशका क्रिक्रेट मैदानको अवस्था बारे र मैदानको संरक्षण गर्न नेपाल सरकारलाई यस प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने खेल प्रेमीहरुको भनाई रहेको छ ।

टियु मैदान कीर्तिपुरमा हुने क्रिक्रेट प्रतियोगिता यसपटक भने काठमाडौं बाहिर भइरहेको छ । टियु मैदान कीर्तिपुरमा मात्रै सिमित भएको क्रिक्रेट प्रतियोगिता काठमाण्डौँ बारिह लुम्बिनी प्रदेशका तीनवटा क्रिक्रेट मैदानमा हुने भएपछि नेपाली क्रिकेट फ्यानहरु उत्साहीत भएका हुन् ।

राज्यले ध्यान नदिँदा देउखुरी मैदान ओझेलमा

नेपाली क्रिक्रेट टिमका कप्तान रोहित कुमार पौडेलले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा रहेका तीवटा क्रिक्रेट मैदानमा सञ्चालन भइरहेको प्रति खुसी व्यक्त गरे ।

उनले बुधवार देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान परिसरमा पत्रकार सम्मेलन मार्फत यस्तो कुरा बताएका हुन् । टियु मैदान कीर्तिपुर बाहेक लुम्बिनी प्रदेशमा रहेका तीनवटै सुविधा सम्पन्न मैदानमा प्रतियोगिता खेल्न पाउदाँ आफुलाई गर्व लागेको उनको भनाइ थियो ।

‘लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान यति सुविधा सम्पन्न होला भनेर कल्पना समेत गरेको थिएन । मैदान पनि उतिकै राम्रो र भौतिक संरचनाले पनि सम्पन्न रहेको यो मैदानको एरिया पनि ठूलो र उतिकै राम्रो रहेको छ । हामीले खेल्ने मैदानको एरियाकै बराबर रहेको छ’ रोहितले भने ।

‘म योभन्दा अगाडी यो मैदानमा पाइला टेकेको पनि थिएन । तर मलाई यो देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान निकै मन पर्‍यो’ पत्रकार सम्मेलनमा बोल्दै नेपाली क्रिक्रेट टिमका कप्तान पौडेलले देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानको ठूलो भविष्य रहेको बताए ।

 

‘दुई वर्ष लगातार काठमाडौं भ्यालीभित्र खेल खेल्यौं त्यसपछि काठमाडौं बाहिर रहेका विभिन्न खेल मैदानहरुमा पनि हामीले खेल खेलिरहेका छौं’ उनले भने, ‘काठमाण्डौं भ्यालीभन्दा बाहिर भइरहेका विभिन्न ट्रफीका खेलहरु पनि खेलिरहेका छौं, काठमाडौं भ्यालीभन्दा बाहिर खेलहरू जानु भनेको खुसीको कुरा हो।’

पौडेलले देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान आन्तरिक खेलहरुको लागि निकै राम्रो रहेको बताउँदै अन्तराष्ट्रिय क्रिक्रेट प्रतियोगिताहरू सञ्चालन गर्नको लागि मैदानलाई थप मर्मतसम्भार र व्यवस्थित बनाउन आवश्यक रहेको उल्लेख गरे । ।

‘सरकारले यस मैदानबारे चासो दियो भने यो मैदानलाई थप व्यवस्थित गर्न धेरै समय लाग्दैन । मलाई लाग्छ नेपाल क्रिक्रेट संघ केन्द्रको नजरमा परेको यो मैदान नेपाल सरकारको नजरमा पर्न जरुरी छ’ उनले भने, ‘यो मैदानमा सरकारले लगानी लगाउन आवश्यक रहेको छ । सरकारले चाहे एकवर्षमा यस मैदानलाई थप व्यवस्थित गर्न सकिन्छ । नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिन्छ । युवा प्रतिभाको प्रस्फुटन, व्यावसायिक लिगको सुरुवात र अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शनले नेपाललाई आगामी वर्षहरूमा उत्कृष्ट क्रिकेट राष्ट्रका रूपमा चिनाउने सम्भावना छ।’

राज्यले दीर्घकालीन खेलकुद रणनीति बनाउनु, बजेटको उचित व्यवस्थापन गर्नु, स्थानीय तहहरूमा खेल सुविधाहरू विस्तार गर्नु, र विभिन्न सफलता दिन सक्ने खेलहरूको पहिचान गरी ती खेलहरूको विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले खेलाडीहरूको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा र व्यवसायिक अवसरहरू पनि थप्नुपर्ने विषयमा सरकार गम्भिर बन्न आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस