कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै

सफल खबर संवाददाता

बुधबार, २८ फागुन २०८१, १६ : ०४
कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै

विराटनगर। आउँदो चैत ७ गतेदेखि शुरू हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई‌)मा कोशी प्रदेशमा ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन् ।प्रदेशका १४ जिल्लामा तोकिएका ३७१ परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले बुधबार पत्रकार भेटघाट आयोजना गरी साधारणतर्फ ७७ हजार ९५७, प्राविधिकतर्फ २ हजार ९७७ र खुला परीक्षार्थीतर्फ ४२६ जना गरी ८१ हजार ३६० विद्यार्थी एसईईमा सहभागी हुने जानकारी गराएको हो ।

कोशी प्रदेशमा सञ्चालन हुने परीक्षामा नियमिततर्फ ७२ हजार ६१३, ग्रेड वृद्धितर्फ ८ हजार ७४७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा धेरै मोरङ जिल्लाको ७० परीक्षा केन्द्रबाट १८ हजार २२१ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । झापाका ५७ परीक्षा केन्द्रबाट १७ हजार १०३, सुनसरीका ५० परीक्षा केन्द्रबाट १३ हजार ६१३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् ।

 

 

 

 

 

कोशी प्रदेशको तेह्रथुम जिल्लाबाट सबैभन्दा थोरै विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तेह्रथुमका १४ परीक्षा केन्द्रबाट १ हजार १९४ विद्यार्थी एसईई परीक्षामा भाग लिने मन्त्रालयले जनाएको छ । त्यसपछि कम परीक्षार्थी सोलुखुम्बु जिल्लामा छन् । सोलुखुम्बु जिल्लाका १४ परीक्षा केन्द्रबाट १ हजार ७०२ विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

यस्तै, ताप्लेजुङको १७ परीक्षा केन्द्रबाट २ हजार २८३, ओखलढुंगाका १७ परीक्षा केन्द्रबाट २ हजार २३१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । एसईई परीक्षा सञ्चालन हुने ३७१ परीक्षा केन्द्रमा ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक, १ हजार ६१६ सहयोगी गरी जम्मा ७ हजार ३८४ शिक्षक कर्मचारी र ५ हजार ५६५ सुरक्षाकर्मी परिचालन हुनेछन् । 

 

 

 

सबैभन्दा धेरै झापामा १ हजार ५३३ शिक्षक कर्मचारी र ८५५ प्रहरी सुरक्षाकर्मी परिचालित हुनेछन् । मोरङमा १ हजार ६३२ शिक्षक कर्मचारी र १ हजार ५० सुरक्षाकर्मी गरी २ हजार ६८२ जनशक्ति परिचालन गरिने छ । 

परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डबाट प्रश्नपत्र छपाइ तथा वितरण हुने, उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेशबाट शिक्षा विकास निर्देशनालय धनकुटाले गर्ने, उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य प्रदेशबाटै हुने र नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम राष्ट्रिय परीक्षा बोर्डबाट हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस