ज्ञानेन्द्रलाई स्वागत : विष्णु रिमाल लेख्छन्- ‘फर्गिभ-वट नट फर्गेट’

सफल खबर संवाददाता

आइतबार, २५ फागुन २०८१, १० : ०३
ज्ञानेन्द्रलाई स्वागत : विष्णु रिमाल लेख्छन्- ‘फर्गिभ-वट नट फर्गेट’

काठमाडौं । एक महिना लामो पोखरा भ्रमणबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजधानीमा स्वागत गर्ने राप्रपाको निर्णयले बालुवाटारमा छटपटी भएको देखिएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत् पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराको विरोध गरेका हुन्। उनले शाह वंशको अढाइ सय वर्षसम्मको चकचकी र लुटलाई बिर्सिए पनि २०४६ साल अगाडि बोल्ने अधिकार नभएको अवस्थाको सम्झना गर्दै राजालाई स्वागत गर्ने कुराको विरोध गरेका हुन्।

यिनै ज्ञानेन्द्रले दाजुको वंश खरानी बन्दा केही गर्न नसकेको र उनैलाई स्वागत गर्छु भन्ने पाखण्ड भएको उनको टिप्पणी छ। राजसंस्था र पूर्वराजालाई स्वागत गर्ने विषयको चर्को विरोध गर्दै रिमालले फेसबुकमा लेखेका छन्, ‘अंग्रेज़ीमा एउटा भनाइ छ नि- “फर्गिभ-वट नट फर्गेट।” रिमालले राजालाई माफ दिएको तर उनले गरेको काम नबिर्सिएको आशय व्यक्त गर्दै यो भनाइ उद्धृत गरेका हुन्।

उनले अगाडि लेखेको छन्, ‘यिनीहरू नै थिए त ! अढ़ाइ सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहॉ’ जान नदिने जस्ता “राम-राज्य”का संचालक यिनीहरू नै थिए हैन र ? अझ त्यसलाई “पुरानो” कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिंगो वंशलाई “उनीहरूद्वारा-उनीहरूका लागि उनीहरूले नै” खरानी बनाएका हैनन् र ?’

ज्ञानेन्द्रको स्वागतमा एयरपोर्ट जाऔँ भन्ने अनुहारप्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘एयरपोर्ट जाऔं- स्वागत गरौं भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको “गोल्डेन डेज”आयो भन्दै ती “डेज”मा “गोल्ड”को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र !’

प्रतिक्रिया दिनुहोस