मस्को । कुनै पनि विषयमा रुस र अमेरिका सहमत भएको निकै दुर्लभ मात्रै देख्न पाइन्छ । हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा प्रस्ताव स्वीकार गरेका छन् ।
रुस, अमेरिका र चीनलाई तिनीहरूको रक्षा बजेट ५० प्रतिशतले घटाउन ट्रम्पले सुझाव दिएका थिए । पुटिनले यसलाई राम्रो प्रस्ताव भनेका छन् । यसबारे छलफल गर्न रुस तयार रहेको पनि उनले बताए ।
‘मलाई लाग्छ यो राम्रो विचार हो । अमेरिकाले यसलाई ५० प्रतिशतले कटौती गर्नेछ र हामी पनि ५० प्रतिशतले कटौती गर्नेछौं, र त्यसपछि चाहेमा चीन यसमा सामेल हुन सक्छ,’ एक अन्तरवार्तामा पुटिनले भनेका थिए ।
२०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि रुसले आफ्नो सैन्य खर्च व्यापक बढाएको छ । यसले त्यहाँ महँगी पनि बढाएको छ । २०२४ मा रक्षा र सुरक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको करिब ८ दशमलव ७ प्रतिशत हुने पुटिनले भनेका छन् ।
यस विषयमा पुटिनले चीनको तर्फबाट भने बोल्न खोजेनन् । अमेरिकासँग यसबारे छलफल गर्न रुस तयार रहेको संकेत उनले गरेका छन् । उनले भने,‘हामी अमेरिकासँग सम्झौता गर्न सक्छौँ, हामीलाई यसमा कुनै आपत्ति छैन । हामी यसलाई राम्रो प्रस्ताव ठानेका छौँ र यसबारे छलफल गर्न तयार छौँ ।’
रुससँग युरोप बोलिरहेको छैन
युक्रेनमा सम्भावित शान्ति वार्तामा युरोपेली देशहरूको भूमिकाको बारेमा पनि पुटिनले चर्चा गरेका थिए । यसमा युरोपेली देशहरूलाई पनि सामेल गराउनु पर्ने अनुरोध उनले गरेका थिए । युरोपेली सहभागिताको बारेमा सोध्दा पुटिनले भने, ‘म यसमा केही गलत देख्दिन ।’ युरोपेली देशहरूलाई यस युद्धमा युक्रेन आफैँले जत्न सक्छ भन्ने लागेकाले उनीहरू रुससँग बोल्न नमानेको पुटिनको दाबी थियो ।
रुसले ब्रिक्स देशहरूको विचारलाई महत्त्व दिने पनि उनले बताए । शान्ति चाहने सबै साझेदारहरूप्रति आफू आभारी रहेको र वार्तामा युरोप मात्र नभएर अन्य देशहरूलाई पनि भाग लिने अधिकार भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १५ : ०४
लेखकबाट थप