रिंकु मृत्यु प्रकरण : घटना दबाउन पञ्चायती बस्ने ३ जनाविरुद्ध ५ दिन म्याद थप

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, ११ : १४
रिंकु मृत्यु प्रकरण : घटना दबाउन पञ्चायती बस्ने ३ जनाविरुद्ध ५ दिन म्याद थप

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ।

सिरहा प्रहरीले आइतबार मात्रै घटना दबाउन पञ्चायती बसेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये ३ जनाको भूमिका शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

उनीहरुमाथि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सोमबार सिरहा जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।सोमबार मात्रै अदालतले ३ जनाविरुद्ध ५ दिनको म्याद थप गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

उनका अनुसार म्याद थप भएर हिरासतमा हुनेहरुमा नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास छन् ।

उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म वपेपत्ता भएकी थिइन् ।

२८ गतेको बिहानीपख ३ बजेतिर उनी आफ्नै घरमा अचेत भेटिएकी थिइन् । शौच गर्न निस्केका बेला उनलाई स्थानीय तीन युवाहरुले घरबाट केही पर लगेर सामूहिक बलात्कार गरेको पीडित परिवारको दाबी छ ।

रिंकुले आफूमाथि बलात्कार भएको विषय पञ्चायतीमा समेत बताएकी थिइन् । उक्त विषय बाहिर आएपछि घटना दबाउन पञ्चायती  बसेको र पैसाको मोलमोलाई भएको प्रहरी अनुसन्धानबाट पनि पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस