च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डसँग पाकिस्तान पराजित, आज भारत र बंगलादेश भिड्दै

एजेन्सी

विहीबार, ०८ फागुन २०८१, ०७ : ५५
च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डसँग पाकिस्तान पराजित, आज भारत र बंगलादेश भिड्दै

एजेन्सी । विल योङ र टोम लामथको शतकमा न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीमा विजय सुरुवात गरेको छ।

गएराति सकिएको च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्यान्डले आयोजक पाकिस्तानलाई ६० रनले हराएको हो।

न्युजिल्यान्डले दिएको ३ सय २१ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४७.२ ओभरमा २ सय ६० रन बनाउँदा अलआउट भयो। 

पाकिस्तानलाई सस्तैमा रोक्न विलियम ओ रोर्के र मिचेल सान्टनरले समान ३ विकेट लिए। म्याट हेनरीले २ तथा नेथन स्मिथले एक विकेट आफ्नो नाममा गरे। 

पाकिस्तानका खुशदिल शाहले सर्वाधिक ६९ रनको योगदान दिए। बाबर आजम ६४ र सलमान आघाले ४२ रन बनाउँदै पेभेलियन फर्के। 

त्यसअघि कराँचीस्थित नेशनल स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २० रनको योगफल तयार पारेको थियो। 

न्युजिल्यान्डका लागि विल योङ र टोम लामथले शतक पूरा गरे। ओपनर विल योङले १ सय १३ बलमा १२ चौका र १ छक्का सहयोगमा १ सय ७ रन बनाउादा नसिम शाहको बलमा क्याच आउट हुन पुगे। ओडीआई करियरमा यो उनको चौथो शतक हो। 

ओडीआई करियरको आठौँ शतक हानेका लामथ १ सय १८ रनमा अविजित रहे। उनले १ सय ४ बलमा १० चौका र ३ छक्का प्रहार गरे। 

पाचौँ विकेटका लागि लामथ र ग्लेन फिलिप्सले १ सय २५ रनको साझेदारी गरे। फिलिप्स ६१ रन बनाउँदै क्याच आउट भए। 

पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले समान २ तथा अबरार अहमदले एक विकेट विकेट लिए। 

जितसँगै २ अंक जोडेको न्युजिल्यान्ड समूह ए मा अंक तालिकाको शीर्ष स्थानमा छ। 

च्याम्पियन्स ट्रफीमा आज भारत र बंगलादेश भिड्नेछन्।समूह ए कै अर्को खेलमा भारत र बंगलादेशबीचको खेल भने यूएईको आबुधाबीमा हुनेछ।

च्याम्पियन्स ट्रफीका लागि भारतिय टोली पाकिस्तान नजाने भएकाले भारतले खेल्ने सबै खेल यूएईमा हुनेछन्।सो खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।

भारत र बंगलादेशले सन् २०१८ मा पछिल्लो पटक यो मैदानमा ओडीआइ खेलेका थिए। यो मैदानमा भने पछिल्लो पटक २०२४ को मार्चमा ५० ओभरको खेल भएको थियो।

प्रतिक्रिया दिनुहोस