निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, चार अस्पताल बन्द

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०८१, १२ : १९
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, चार अस्पताल बन्द

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक राजधानी जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमन गरेका छन् । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहित आइतबार रातीसम्ममा नौ वटा अस्पतालमा पुगी उनले अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिंहको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकलएन्ड टेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेका गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गरेका छन् ।

अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएका छन् । ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहर मैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नगराएकाले कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ । एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन ।

आजबाट बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सिसिटिभीका शनिबार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिए । बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशङ्कामा अस्पताल सञ्चालकलाई सिसिटिभी फुटेजसहित बोलाइएको ठाकुरले बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस