काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफ्ना प्रश्नबाट भागेर प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीले ती प्रश्नहरूको जवाफ दिएनन् । बरु, उनले रोष्ट्रमबाटै आक्रोश पोखेका थिए ।संसद्को उक्त घटनापछि संसद् भवन परिसरमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए ।
‘४ दिनअघि नै प्रश्न दर्ता गरेको थिएँ । आज यी प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो । जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ दिनुपर्थ्यो । उहाँले संसद्को अपमान गर्नुभयो,’ साहले भने, ‘नियमावलीको अपमान गर्नुभयो । प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उडाइदिनुभयो । यसले मेरो विचारमा कानुनी शासनको उपहास पनि भयो । लोकतन्त्र हो भने जनताको जवाफ दिन सक्नुपर्छ । उहाँले प्रश्नकै प्रतिप्रश्न गर्नुभयो ।’उनले आफूले नियमापत्ति गर्दा पनि सभामुख देवराज घिमिरेले बन्देज लगाएको आरोप लगाए ।
‘सांसदले प्रश्न गर्दा मजाक गर्ने र प्रश्नबाट भाग्ने काम भयो । यो लोकतन्त्र र विधिको शासनकै उपहास हो जस्तो मलाई लाग्छ,’ सांसद साहले भने, ‘प्रधानमन्त्रीले आफ्नो गरिमा बिर्सनुभयो । त्यो प्रश्न मेरा प्रश्न थिएन, नेपाली जनतासँग जोडिएका प्रश्न थिए ।’
उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य पनि आजबाटै सकिएको जिकिर गरे । सांसद साहले सोधेका प्रश्नहरू विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेको बताउँदै प्रधानमन्त्री ओलीले जवाफ दिएनन् ।
उल्टै प्रश्न गरेका थिए, ‘संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा, के म मेनपावर व्यवसायी हो ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार लुटेराहरूको सरकार : प्रभु साह
आइटी आर्मीको आन्दोलन स्थगित गर्न प्रभु साहको निर्देशन
रथी सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्छ : अध्यक्ष साह