काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी विश्व अधिकारीले शान्ति सुरक्षा र अपराध रोकथाम आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
परिसरमा हाजिर भएको ९ दिनपछि मंगलबार गरेको पहिलो पत्रकार सम्मेलनमा एसएसपी अधिकारीले काठमाडौंका सर्वसाधारणको गुनासो र उनीहरूको पीरमर्कालाई ध्यानमा राखेर काम गर्ने बताए ।
‘जिम्मेवारीको हिसाबले काठमाडौं एउटा चुनौतीपूर्ण जिल्ला पनि हो र क्षमता प्रदर्शन गर्ने अवसर पनि हो’, एसएसपी अधिकारीले भने,‘हामी ४ हजार जनशक्ति छौं, यसको उचित परिचालन गरेर काम गर्छौं ।
अधिकारीले प्रहरीको सेवा प्रवाह, प्रहरीका कामकारबाही, अपराध अनुसन्धान, मानव अधिकारको रक्षा गर्दै प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा आफ्नो प्राथमिकता रहेको बताए । उनले समुदाय प्रहरी– साझेदारी कार्यक्रमलाई परिष्कृत गर्दै प्रहरी र नागरिकको सम्बन्धमा जोड दिने बताए ।
‘नागरिकलाई प्रहरी मेरो साथी नारा मात्रै नभएर व्यवहारमै लागू गर्ने गरि प्रहरी परिचालन गर्छौं’, अधिकारीले भने, ‘काठमाडौं परिसरमा सेवा लिन आउने सर्वसाधारणको रेकर्ड राखी उनीहरूको गुनासो सम्बोधन भए/नभएको समेत अडिट राख्ने गर्छौं ।’
अधिकारीले काठमाडौंको चार हजार जनशक्तिमध्ये ८० प्रतिशत जनशक्ति अपराध नियन्त्रण र रोकथाममा परिचालन भइरहेको बताए । उनले प्रहरीको कन्ट्रोल नम्बर १०० मा आएका कल अनुसार प्रहरीले समयमै रेस्पोन्स गर्नेगरी काम गर्ने बताए ।
एसएसपी अधिकारीले काठमाडौं परिसरमा विचौलिया प्रवेश निषेध रहेको जानकारी दिँदै भने,‘यहाँ दैनिक सयौं सर्वसाधारण गुनासा लिएर आउँछन्, तीमध्ये केही विचौलियाको रूपमा पनि आएको पाएको छु, उनीहरूलाई यहाँ प्रवेश गर्न रोक लगाउँछौं ।’
काठमाडौंमा धेरैजसो आर्थिक अपराधका घटनाका उजुरी लिएर आउने सर्वसाधारणको घुइँचो लाग्ने गरेको जानकारी एसएसपी अधिकारीले दिए ।
‘सर ! मेरो यति पैसा ठगी भयो, उठाइदिनुपर्यो । सर ! मलाई विदेश पठाइदिन्छु भनेर पैसा लियो सम्पर्कविहीन भयो पैसा उठाइदिनुपर्यो भनेर दैनिक उजुरी आउँछन्’, एसएसपी अधिकारीले भने,‘प्रहरीले रितपूर्वकको उजुरी अनुसार पीडकलाई पक्राउ गरेर पीडितलाई क्षतिपूर्ति भराउने काम पनि गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १६ : २८
लेखकबाट थप