काठमाडौं । फिल्म 'लाज शरणम्' को सोमबार बेलुका रिलिज गीत 'नेपाल हाँसेको' युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको यो गीत रिलिजको २४ घण्टा नहुँदै युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ शीर्षस्थानमा प्रवेश गरेको हो।
यसको भिडिओले भ्युज पनि लोभलाग्दो पाइरहेको छ। यो समाचार तयार पार्दासम्म भिडिओलाई ८ लाख ५० हजारभन्दा बढीपटक हेरिएको छ। 'नेपाल हाँसेको' गीतमा बालेनको शब्द, संगीत, स्वर र र्याप छ। यो उनी मेयर भएपछि बजारमा आएको पहिलो गीत हो।
गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ। खासगरी वैदेशिक रोजगारीले दिएको दुःखको कथा भिडिओमा देखाइएको छ।कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ। सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ।
फिल्मको टिमले 'प्रमोसनल सङ' का रूपमा 'नेपाल हाँसेको' ल्याएको हो।
'लाज शरणम्' हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले बनाएको फिल्म हो। कुमार कट्टेलको निर्देशन रहेको फिल्ममा सिताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारहरूको अभिनय छ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा छन्। 'लाज शरणम्' महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १२ : ५१
लेखकबाट थप