९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०८१, १२ : १४
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाइएको छ ।नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रूपमा खोप लगाइएको हो ।

नगरपालिकाको पशु विकास शाखा प्रमुख रामप्रसाद भट्टले व्यावसायिक बाख्रापालन गरिएका वडामा यही माघ २० देखि २६ गते सम्म खोप अभियान सञ्चालन गरिएको जानकारी दिए ।

 

 

 

 

 

उनका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट दश हजार डोज खोप प्राप्त भएकामा नौ हजार नौ सय ६९ डोज खोप बाख्रालाई लगाइएको छ । 'घातक संक्रामक रोग पीपीआरका कारण नगरपालिका क्षेत्रमा व्यावसायिक बाख्रापालन गरेका किसानले क्षति व्यहोर्दै आएका थिए,' पशु शाखा प्रमुख भट्टले भने, 'त्यसलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन गरेका हौं ।

यस रोगका कारण बाख्रामा कडा ज्वरो आउने, सिँगान बग्ने, आँखामा र्‍याल काढ्ने, चिप्रा (कचेरा) देखिने, छेर्ने, मुख तथा गिजामा पानीफोका जस्ता घाउ आउने र घाँस खान नसकेर बाख्राको मृत्यु हुने गर्छ । 

 

 

एक पटक खोप लगाइ सकेपछि तीन वर्ष सम्म खोप दिनु नपर्ने पशु प्राविधिक लक्ष्मीदत्त जोशीले बताए । सरकारले खोप अभियान सञ्चालन गरी सन् २०३० सम्ममा पीपीआर रोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस