सामाजिक सञ्जाल विधयेकविरुद्ध संघले आन्दोलन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०८१, ०७ : ३४
सामाजिक सञ्जाल विधयेकविरुद्ध संघले आन्दोलन गर्ने

काठमाडौ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाईन टिभी पत्रकार संघले आन्दोलनको घोषणा गरेको छ । 

सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाईन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने ठहर गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो । 

संघका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा बसेको संघका पदाधिकारी र प्रभावशाली अनलाईन टिभीकर्मीहरुको बैठकले विधयेकका धेरै विषयबस्तु संशोधन हुनै पर्ने निश्कर्ष निकालेको छ । 

अनलाईन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विक्रिती र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरणमा नियन्त्रणको नियत राखेको संघको ठहर छ । 

विधयेकका कतिपय व्यवस्थाले आफूहरुको पेशा मात्रै संकटमा नपारी आलोचना र खवरदारी गर्ने नागरिक अधिकार समेत खोस्ने संघको दावी छ । संघले नागरिक अधिकार नै कुन्ठित पार्ने विधेयकलाई संशोधन गराउन सबै नागरिकहरु पनि आन्दोलित हुनुपर्नेमा जोड दिएको छ । 

संघले गलत व्याख्या भएर दुरुपयोग हुने व्यवस्थाहरुलाई हटाउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस