काठमाडौँ । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा विश्व पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेजी गर्नुपर्ने बताएका छन् । मन्त्रालयको काम कारबाही सन्तोषजनक नभएको भन्दै उनले खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।
अमेरिकामा युएसएआडी खारेज गरेको प्रसङ्ग झिक्दै उनले नेपालमा पनि यातायात मन्त्रालय खारेज गर्न आवश्यक रहेको बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'गएको दुई वर्षदेखी ग्वार्कोको ओभरपासको धराप भएर क्याम्पस जान्छु। त्यति सानो प्रोजेक्ट, जनताको स्वास्थ्य, स्थानीयको व्यवसाय सवैमा कति असर परेको छ, भनिसाध्यै छैन। यस अघि नक्खु–भैसेपाटी सडक बनाउन छ वर्ष लाग्दा यता पनि त्यही भएको थियो।
उता नागढुंगा सुरुङ आज होला भोलि होला छैन। न नागढुंगाबाट सुरुङसम्म जाने बाटो राम्रो बनाउन हतार छ। गएको वर्ष दुईवटा गाडी त्यहाँ पहिराले निले। जताततै सडक मर्मत गर्दा जनतालाई सकेसम्म धेरै दुःख दिएको छ, अलपत्र सडक र जीर्ण पुल देशभरि छन्।
प्रश्न सोध्दा सरकारले बजेट दिएन, मन्त्रीले सरुवा गर्यो भन्ने बहाना बनायो, सकियो। हाम्रो देशको बेस्ट ब्रेन भएका इन्जिनियरहरू भएको मन्त्रालयको क्षमता यही हो भने हाम्रो भविष्यको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आयो।
उनले एक्प्रेसवे र टनेल जती सिधै प्रधानमन्त्रीको कार्यालयमा राख्न पनि सरकारलाई सुझाव दिएका छन् । उनी भन्छन्– 'कुनै विशेष समुह बनाएर त्यहाँ अन्तर्राष्ट्रिय बोलकबोलबाट अनुभवी प्रशासक तथा प्रोजेक्ट म्यानेजर ल्याऔँ।
खरबौँका आयोजनामा राम्रो तलब नदिए गतिला म्यानेजर आउँदैनन्। नेपाली हुन या विदेशी, राम्रो इन्जिनियर र प्रोजेक्ट म्यानेजर ल्याऔँ।
पानीजहाज, जलमार्ग र रेल कार्यालय खारेज गरिदिऔँ। निर्वाचन क्षेत्र रणनीतिक सडक, वैकल्पिक सहायक राजमार्ग विकास जस्ता कार्यक्रम प्रदेशलाई दिऔँ। साना र फाच्चेफुच्चे आयोजना पालिकाहरूलाई दिऔँ। यसबाहेकको एउटा चुस्त सडक मन्त्रालय बनाऔँ।
अहिलेसम्म काम गरेका सबै आयोजना प्रमुखहरूको मूल्याङ्कन गरेर सबैभन्दा राम्रालाई प्रमुख उत्तर दक्षिण (कोशी, कर्णाली, गण्डकी, भेरी, सेती , मेची र महाकाली कोरिडोर) तथा पूर्वपश्चिम (हुलाकी, महेन्द्र, बिपी, पुष्पलाल र हिमाली राजमार्ग) पाँच वर्षभित्र सक्ने गरी जिम्मेवारी दिन पनि उनले आग्रह गरेका छन् ।
आयोजनाहरू बेलामा नसक्ने आयोजना प्रमुखहरूलाई क्रिकेटले कोचलाई बिदा दिए जस्तै बिदा दिन पनि उनले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १० : ४१
लेखकबाट थप