रामपुर (पाल्पा) । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वन ऐन संशोधनको क्रममा रहेको बताएका छन् । वनसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको बताएका हुन् ।
नेपाल प्रेस युनियन पाल्पाले बुधबार रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वन ऐनमा रहेका साना-साना कारणले विकास निर्माणमा समस्या भएको भन्दै ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताए ।
“वन ऐन अहिले हामी संशोधन गर्ने क्रममा छौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा छौँ । वातावरण संरक्षण ऐन नियमावली बनाउँदै छौँ” उनले भने ।विकास निर्माण र वनबिच नजिकको सम्बन्ध भए पनि साना कारणले अप्ठ्याराहरू सिर्जना भएको बताए । देशमा विदेशबाट काठ आउने, स्वदेशी काठ जंगलमै सडेर जाने परिस्थिति रहेको भन्दै उनले वन ऐन संशोधनको माध्यमबाट स्वदेशी काठ सदुपयोग गर्ने, बाहिरको काठलाई निरुत्साहित गर्नका लागि आवश्यक कार्ययोजना बनाइरहेको स्पष्ट पारे ।
जलवायु परिवर्तनबाट देशले भोग्नु परेको बताउँदै न्यूनीकरणका लागि प्रयास गर्दै आएको बताए । अहिले वन्यजन्तु र मानवविचको द्वन्द्व चलिरहेको अवस्थामा समस्याको समाधानका लागि पहल भइरहेको बताए । “अहिले विशेषगरी हात्ती, बाघ, गैंडाबाट मानिसहरूले धेरै दुःख पाइरहेका छन् । बाँदरको समस्या त्यत्तिकै बढेको छ । बँदेल र बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर समस्या समाधानका लागि अघि बढेका छौँ” उनले भने ।
गिद्ध संरक्षित क्षेत्र रामपुर-८ को खैरेनी वनस्थित जटायु पार्कमा भएको कार्यक्रममा लोपन्मुख अवस्थामा रहेको गिद्ध संरक्षण अभियानले संख्या क्रमशः अघि बढ्दै जानु खुसीको कुरा भएको बताए । जैविक विविधताको संरक्षणका लागि स्थानीय सरकार र प्रदेश संघ समन्वय गरेर आवश्यक काम अघि बढाउने बताए ।
लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले चरा संरक्षणका लागि वन ऐनमा स्पष्ट नीति नहुँदा आवश्यक कार्य गर्न समस्या परेको बताए । उनले वन ऐनमा विशेष व्यवस्था गर्न आग्रह गरे । उनले लुम्बिनी प्रदेशले गिद्ध संरक्षणका लागि जगदिशपुर ताल र खैरेनी वनलाई लिएको बताए ।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले वनबाट स्थानीय सरकारले प्राप्त गर्ने आयआर्जनका कुरा कानुनसँग बाझिएको कारणले रोकिएको बताए । ६ प्रजातिको गिद्ध पाइने खैरेनी वनको प्रवर्धनका लागि नगरपालिका लागिपरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वनमन्त्री शाही र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता
प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही