शेखर र गगन आगामी सभापति मै हुँ भन्दै हिँडेर पार्टीभित्र विभाजन ल्याउने काम गर्दैछन् : डा. महत

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०८१, १६ : ०८
शेखर र गगन आगामी सभापति मै हुँ भन्दै हिँडेर पार्टीभित्र विभाजन ल्याउने काम गर्दैछन् : डा. महत

काठमाडौं । १५औँ महाधिवेशनको लागि पार्टीका तल्लो तहका कार्यकर्ताको भाव बुझ्न नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत हुलाकी राजमार्ग केन्द्रित अभियानमा निस्किएका छन् । महतले सप्तरीबाट हुलाकी राजमार्ग केन्द्रित अभियान थालेका हुन् ।

अभियानका क्रममा उनले पार्टीका नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन् । सप्तरी क्षेत्र नम्बर १ ले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता महतले पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

पार्टीभित्रै नेताहरूलाई विपक्षी देख्ने प्रवृत्ति बढेपछि पार्टी कमजोर भएको उनको बुझाइ छ । प्रवक्ता महतले भने, ‘आमनिर्वाचनमा पनि रियल विपक्षीलाई आफ्नो प्रतिस्पर्धी नदेख्ने, तर पार्टीभित्रै आफ्नैलाई चाहिँ विपक्षी देखेपछि, बरु जोसुकै आओस्, यो चाहिँ नआओस् भन्ने मानसिकता देखियो । त्यसलाई सुधार गर्नुपर्छ ।’

अहिले कम्युनिष्टहरुसमेत भित्री रूपमा नमाने पनि काँग्रेसकै नीतिलाई हो भन्न बाध्य भएर हिँडिरहेको उनले बताए । उनले काँग्रेसले गरेको काम पनि प्रचार गर्न नसकेको बताए ।

प्रवक्ता महतले पार्टीको महाधिवेशन आगामी मंसिरमा नहुने बताए । उनले भने, ‘आउँदो मंसिरमा अधिवेशन हुनेवाला छैन । किनभने त्यसको तयारी नै भएको छैन । सधैँ एक वर्ष त थप्ने गरेकै छ । कम्तीमा एक वर्ष त थपिन्छ ।’

उनले महाधिवेशनको समय बाँकी रहेकाले देश दौडाहमा लागेका नेताहरूलाई अहिले नै म हुँदै भन्दै नहिँड्न सुझाव दिए ।उनले थपे, ‘अहिलेदेखि नै म हो, म हो भनेर कहीँ पुगिँदैन। त्यसले विभाजन मात्र गर्छ, म यहाँ आएर मलाई समर्थन गर्ने को को हुन सक्छन् भनेर खोज्दै हिँड्न थाल्यो भने झन् कमजोर बनाउँछ । महाधिवेशनको दुई तीन महिनाअघि महाधिवेशनमा लाग्ने हो।’

अहिले काँग्रेसमा आगामी महाधिवेशनको नेतृत्वको तयारीका लागि डा। शेखर कोइराला घोषित रूपमै देश दौडाहमा छन् । महामन्त्री गगन थापा पनि अघोषित रूपमा आफ्नो तयारी गर्दै जिल्ला जिल्लाका कार्यक्रममा पुगिरहेका छन् ।