मोरङ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ६६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी-३ का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, सोही ठाउँ बस्ने ३० वर्षीय बुद्धनारायण मलाह, विराटनगर महानगरपालिका-८ बस्ने २३ वर्षीय करण भन्ने अमित राय र पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २५ वर्षीय बोधराज राजवंशी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार उनीहरूले विराटनगर महानगरपालिका-११ बस्ने महेश कुमार चौधरी र उनको छोरा युपेश कुमार चौधरीलाई क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेका हुन् ।
उनीहरूले विभिन्न मानिसहरूको बैंक खातामा पटक पटक गरी जम्मा ६६ लाख ६७ हजार रुपैयाँ ठगी गरेको जोशीको भनाई छ ।
पीडितले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूमाथि ठगी सम्बन्धित कसुरमा मुद्दा दर्ता गरी मोरङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ ।
प्रारम्भिक अनुसन्धानमा भारत घर भएका केशव यादवले अन्य ४ जनालाई पैसाको प्रलोभन देखाई ईसेवा, खल्तीजस्ता डिजिटल वालेट तथा बैंक खाताहरू खोल्न लगाई त्यसको युजर एक्सेस र पासवर्ड लिई कारोबार गरेको देखिएको प्रवक्ता जोशीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा ३ जना पक्राउ
बलात्कार आरोपमा १ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
गाँजा र चरेससहित सात जना पक्राउ
बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ
बालिका बलात्कार गरेको आरोपमा दाङ र रुपन्देहीमा तीन जना पक्राउ