काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा )नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णयपछि देखिएको समस्या समाधानबारे नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूबिच छलफल भएको छ ।
पार्टीका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको पहलमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा अध्यादेश पास गर्न अपनाउन सकिने वैकल्पिक उपायबारे छलफल भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार नेकपा (एकीकृत समाजवादी)लाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय भएको छ ।
सत्तामा रहेको लोसपा र गठबन्धन सरकारलाई समर्थन गरेको जसपा नेपालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०८१ अस्वीकार गर्ने निर्णय गरेका थिए । जसपा नेपालको मंगलबार बसेको संसदीय दलको बैठकले अस्वीकार गर्ने निर्णय गरेको थियो भने लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने बताएका थिए ।
यी दुई दलबिना राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा स्वीकृत हुने सम्भावना नभएपछि कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाको पहलमा संस्थापन पक्षीय नेताहरूले विकल्प खोजेर समस्या समाधानबारे कुराकानी गरेका हुन् ।
बैठकमा सभापति देउवासँगै नेता सिटौला उपसभापति पूर्णबहादुर खड्का केपी ओली नेतृत्वको सरकारमा कांग्रेसबाट नेतृत्व गरेर सहभागी भएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण डा.प्रकाशशरण महत र एनपी साउद सहभागी थिए ।
नेताहरूले सरकारको नेतृत्व ओलीले गरे पनि प्रमुख सत्तारुढ दल कांग्रेस भएकाले अध्यादेश अस्वीकृत हुँदा नैतिकताका प्रश्न उठ्ने भन्दै जसरी भए पनि पास गर्न कांग्रेसले पहल कदमी लिनुपर्ने बताएका थिए । त्यसका लागि सबैभन्दा सचिलो उपाय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राष्ट्रियसभामा अध्यादेश पास गर्न सघाउन आग्रह गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । एकीकृत समाजवादीले अध्यादेश स्वीकार-अस्वीकार के गर्ने भन्ने आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । बैठकमा भएको निर्णय अनुसार एकीकृत समाजवादीसँग कांग्रेसले छलफल गर्नेछ ।
बैठकमा सरकार निर्माणका बेला भएको ७ बुँदे सहमति कार्यान्वयनको सन्दर्भमा पनि छलफल भएको थियो । एमालेले सहमति कार्यान्वयनमा कठिनाइ उत्पन्न गर्ने काम नगरेको नेताहरूको भनाइ थियो ।
बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे पनि कुराकानी भएको थियो । सभापति देउवाले महाधिवेशन गर्ने दायित्व आफ्नो भएकाले समयमा गर्नका लागि वातावरण निर्माण गर्न तयार रहेको बताएका थिए । कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०८२ मंसिरमा सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी
कांग्रेस नेताहरुको सामाजिक सन्जालमा मजाक लाग्दो रोइलो
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै