सीके राउतले सुरु गरे ‘यु ट्वान्टी फोर’ अभियान

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०८१, १५ : ०१
सीके राउतले सुरु गरे ‘यु ट्वान्टी फोर’ अभियान

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संगठनमा विभिन्न नामले अभियान चलाउँदै आएका छन् । उनले दिने अभियानको नाम युनिक हुन्छ । उनले यसपटक पनि नयाँ नाम दिएर संगठनका लागि अभियान सुरु गरेका छन् । अभियानको नाम हो यु ट्वाइन्टी फोरम अर्थात अपडेट २४ घण्टा ।

यो अभियान डेढ महिना सञ्चालन हुने जनमत पार्टी नेपालका एक जना केन्द्रीय सदस्यले बताए । आइतबार जनमत पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो । बैठकले यो अभियान सञ्चालन गर्ने निर्णय गरेको ती नेताले बताए ।

यो अभियानले संगठनमा को–को छन्, कहाँ–कहाँ छन् र कुन अवस्थामा छन् सबैको अद्यावधिक गर्नेछ । वडा तहदेखि केन्द्रसम्म अद्यावधिक गर्ने बताइएको छ । ती नेताले भने, ‘धेरैले जनमत पार्टी हुँ भन्छन् । तर ती व्यक्ति कहाँ छन्, कहाँको सदस्यता लिएका छन् खोजनीति हुन्छ । कतिपय व्यक्ति सदस्यता लिएर पनि निष्क्रिय छन्, त्यसको बारेमा पनि खोजनीति हुन्छ, कोही पार्टीमा निकै सक्रिय छन् । तर ती जहिले पनि पछाडिका पछाडि नै छन् भने त्यसको बारेमा पार्टीले अध्ययन गर्छ ।’

अभियानका क्रममा संगठनको सम्पूर्ण गतिविधि र सदस्यको बारेमा अध्ययन गरिने जनमत पार्टीले जनाएको छ । त्यसका लागि पर्यवेक्षक खटाउने बताइएको छ ।फागुन २५ र २६ गतेका लागि भौतिक रूपमा केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकसम्म अभियान सञ्चालन हुनेछ । अभियानको बारेमा बैठकमा समिक्षा हुने पार्टीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस