मंगल ग्रह पुग्न कति समय लाग्छ ?

एलन मस्कले ‘मंगल ग्रहमा मान्छे उतार्ने’

एजेन्सी

आइतबार, १३ माघ २०८१, ०९ : १२
मंगल ग्रह पुग्न कति समय लाग्छ ?

एजेन्सी । विश्वकै धनाढ्य एवं अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले ‘मंगल ग्रहमा मान्छे उतार्ने’ भन्दै आएका छन् । जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि मंगल ग्रहमा अमेरिकी अन्तरिक्षयात्री पुर्‍याउने टिप्पणी गरेका थिए ।

अन्तरिक्ष अन्वेषणको दौड चलिरहँदा मंगल ग्रह पृथ्वीबाट कति टाढा छ र यहाँ पुग्न कति समय लाग्ने भन्ने उत्सुकता स्वभाविक हुन्छ । मंगल ग्रहमा जान एकतर्फी ९ महिना समय लाग्नसक्छ भने फिर्ता आउने ट्रिप लगभग तीन वर्षसम्मको हुनसक्छ ।

यो आकलनबाहेक पृथ्वीबाट मंगल ग्रहको यात्रा दुई ग्रहबीचको दूरी र अन्य विभिन्न कुराले निर्धारित गर्छ । मंगल ग्रह सूर्यबाट नजिक देखिने चौथो ग्रह हो । पृथ्वीबाट भने शुक्रपछि नजिकको दोस्रो ग्रह मंगल हो । तर, सूर्यको परिक्रमा गर्ने क्रममा दुवै ग्रहबीचको दूरी फेरिइरहन्छ ।

दुवै ग्रहबीचको सबैभन्दा निकटतम दूरी मंगल ग्रह सूर्यबाट सबैभन्दा नजिक (पेरिहेलियन)मा र पृथ्वी सूर्यबाट सबैभन्दा टाढा (अफिलियन)मा रहेको बेला हुन्छ ।

यतिबेला पृथ्वी र मंगलबीचको दूरी पाँच करोड ४६ लाख किलोमिटर हुन्छ । यद्यपि, यो इतिहासमा कहिले पनि रेकर्ड भएको छैन ।

दुई ग्रहबीच सबैभन्दा नजिक सन् २००३ मा रेकर्ड भएको दूरी पाँच करोड ६० लाख किलोमिटर हो ।

दुवै ग्रहहरूबीचको दूरी सूर्यबाट सबैभन्दा टाढा एक अर्काको विपरीत अवस्थामा भएका बेला सबैभन्दा बढी हुन्छ । त्यतिबेला पृथ्वीदेखि मंगल ग्रहबीचको दूरी ४० करोड १० लाख किलोमिटरसम्म हुन्छ । यसरी औसतमा दुई ग्रहबीचको दूरी २२ करोड ५० लाख किलोमिटर छ ।

प्रकाशको गति प्रतिसेकेन्ड दुई लाख ९९ हजार ७९२ करिब तीन लाख किलोमिटर हुन्छ ।

मंगल ग्रहबाट पृथ्वीसम्म प्रकाश आइपुग्न सबैभन्दा नजिकको विन्दुमा हुँदा ३.०३ मिनेट लाग्छ । इतिहासमा रेकर्ड भएको दूरीबाट ३.११ मिनेट लाग्छ । सबैभन्दा टाढाको विन्दुबाट २२.४ मिनेट र औसतको दूरीबाट १२.५ मिनेट लाग्छ ।

तीव्र गतिको अन्तरिक्षयानबाट कति समय लाग्ला ?
हालसम्म मानव निर्मित सबैभन्दा तीव्र गतिको अन्तरिक्षयान अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पार्कर सोलार प्रोब हो । आफ्नो गतिको रेकर्ड आफैँ ब्रेक गरिरहेको यसको गति अन्तिमपटक सन् २०२४ को डिसेम्बर २४ मा ६ लाख ९२ हजार किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो ।

यदि पार्कर सोलार प्रोब वा यतिकै गतिको अन्तरिक्षयानमा चढेर मंगल ग्रहमा जाँदा कति समय लाग्ला त ?

यस्तो अवस्थामा पृथ्वी र मंगल ग्रह सबैभन्दा नजिकको विन्दुमा हुँदा ७८.८४ घण्टा वा ३.३ दिन लाग्नेछ । सबैभन्दा टाढाको दूरीमा हुँदा ५८१.४ घण्टा वा २४.२ दिन लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस