केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि विरोध गर्ने ? : उपप्रधानमन्त्री सिंह

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०८१, १३ : २०
केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि विरोध गर्ने ? : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि आफ्नो जग्गा थोरै पर्‍यो भने विरोध सुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका हुन् ।

उनले माघ १८ गतेबाट संसद्को अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरू पारित गर्ने गरी अघि बढ्ने बताए । अस्वस्थ प्रतिस्पर्धाबाट आएकाहरूको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ ? भन्दै मन्त्री सिंहले प्रश्न गरे ।  उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धा भएपछि जसले जे गरे पनि, जे बोले पनि, जे लेखे पनि हुने, त्यस्तैको मात्रै जयजयकार हुने हो भने त देश कहाँबाट कहाँ पुग्छ र ? सिस्टममा त हामी जानुपर्छ नि ।

सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताए । ठाउँ ठाउँमा अहिले फिर्ता पनि भइसकेको भन्दै उनले वर्तमान सरकार नागरिकको जीवन र जीविका सहज बनाउन लागिरहेको बताए। बागमतिसहित उपत्यकाका नदी किनारमा २० मिटरको मापदण्डका कारण १५–१६ लाख नागरिक समस्यामा पर्ने देखिएपछि पुनरावलोकनको माग गर्दै अदालत गएको र सोही कारण अहिले तत्कालका लागि समस्या टरेको पनि स्मरण गराए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले माघ १८ बाट सुरु हुने हिउँदे अधिवेशनमा विधेयकहरूलाई पारित गरि आवश्यक नयाँ कानुन बनाउने कुरालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।  ‘बागमती, विष्णुमतीदेखि लिएर अरू नदीनालाहरू सबैको तपाईँहरूले एउटा कुरा के ख्याल गर्नुपर्‍यो भने सुप्रिम कोर्टले के निर्देश गर्‍यो भन्दा नदीनालाको अहिले जे जति छ, त्यसको किनार अझ २० मिटर थप गर्ने भनेको छ ।

मान्छेहरूमा यहाँ त असुरक्षाको वातावरण भयो । बैंकहरुले पनि जसले धितो राखेको छ, त्यो चाँडै फर्काऊ, किनभने तिमीहरूको केही बाँकी रहँदैन । सरकारले यो हटाउने भयो । सुप्रिम कोर्टको निर्देशनअनुसार भन्यो । त्यसमा हामीले भ्याकेटमा जानको लागि सहरी विकास मन्त्रालयकै नेतृत्वमा कमिटी गठन गरेर १६१७ लाख जनताको आवास असुरक्षित हुने भएको कारणले अहिले लागू गर्न सकिँदैन भन्ने कुरालाई कोर्टमा गएर भ्याकेटको मुद्दा चलिरहेको छ,’ उनले भने ।

काठमाडौँ १ बाट आफू निर्वाचित हुनुअघि र पछि धेरै सुधार भएको सिंहले दाबी गरे ।  उनले पहिलाको बुद्धनगर र अहिलेको बुद्धनगरमा तुलना गरेर हेर्न आग्रह गर्दै कसैले सामाजिक सञ्जालमा केही भएन भनेर लेखेको भरमा विश्वास नगर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस