बाँकेमा बीस प्रजातिका चरा भेटिए

सफल खबर संवाददाता

विहीबार, १० माघ २०८१, १२ : ०५
बाँकेमा बीस प्रजातिका चरा भेटिए

नेपालगञ्ज  । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् ।

चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताउनुभयो । “ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ,” उहाँले भन्नुभयो । त्यसबाहेक तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उहाँको भनाइ छ । खडखडे, सिलसिले हाँसलगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा दुई सय ७६ चरा भेटिएका छन् ।
 
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले दुई दिनको अवधिमा चराविज्ञ जोशीसहितको टोलीले गरेको सर्वेक्षणमा ती चरा भेटिएको जानकारी दिनुभयो । उहाँले राप्ती नदीको आसपास क्षेत्र, स्थानीय वन, कान्ति ताल र सुतैया तालमा विभिन्न प्रजातिका चरा भेटिएका र उनीहरुको बासस्थान सुरक्षित रहेको पाइएको बताउनुभयो । बर्सेनि हुने चराको सर्वेक्षण तथा गणनाबाट चराको बासस्थानमा व्यवस्थापनका लागि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस