शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह

सफल खबर संवाददाता

विहीबार, १० माघ २०८१, ११ : ०६
शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह

काठमाडौँ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए ।

सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो । सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्।

तत्कालीन राणा शासकले विक्रम संवत् १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।

सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन्। टेकुस्थित शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पणपछि बोल्दै उनले देशको लागि योगदान गर्नेहरूको कदर गर्न सक्नुपर्ने बताइन् ।

उनले शहीदहरूको योगदानबारेको ज्ञान पुस्तान्तरण हुँदै जानुपर्ने बताइन् । योगदानबारेको चर्चा पुस्तान्तरण भएमात्रै इतिहासलाई सम्मान गर्न सकिने र सच्चा नागरिक भएर काम गर्नसक्ने उनले बताइन् ।   

प्रतिक्रिया दिनुहोस