निर्वाचन आयोगको प्रस्ताव : स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गरौं

सफल खबर संवाददाता

शनिबार, ०५ माघ २०८१, १४ : ४९
निर्वाचन आयोगको प्रस्ताव : स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गरौं

काठमाडौं । निर्वाचन आयोगले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव राखेको छ । निर्वाचनसम्बन्धी ऐनमा उक्त प्रस्ताव राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

शनिबार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले यसबारे जानकारी गराए ।

‘स्थानीय तहको मतपत्र छुट्टै भएन, अस्ति हामीले उपनिर्वाचननमा प्रयोग गरेर हेर्‍यौँ । त्यसमा हामी सफल भयौँ । अबको कानुनमा पनि छ । स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेछ भन्ने ऐनमा नै छ । त्यो पास भए आयोगलाई बाध्यता हुन्छ,’ उनले भने ।

साथै, उनले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई पनि तलमाथि गर्न सकिने बताए । ‘प्रत्यक्षलाई नै समावेशी गरियो भने समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिन्छ । समानुपातिक हटाऔँ भनेर आयोगले भन्ने पनि होइन,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको उल्लेख गर्दै नेपालमा पनि त्यो व्यवस्था गर्न सकिने उनको भनाइ थियो ।

‘अहिलेको कानुनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो छ । अमेरिकामा सबै त्यहाँ स्टेटले चुनाव गराउँछ । स्थानीय तहको चुनाव भारतमा त्यहाँको स्टेटले गर्दछ । हामी किन नगर्ने ?,’ उनले भने, ‘त्यसकारण अहिलेको कानुनबाट हामीले यो चाहीँ स्थानीय तहको चुनाव प्रदेशबाट चुनाव मात्रै गर्ने, केन्द्र र प्रदेशको चुनाव केन्द्रबाट गराउने गरी जान सकिन्छ । यसमा आयोगको कुनै आपत्ति छैन । तर अहिलेको कानुन फेर्नुपर्छ । त्यो अहिलेको कानुनमा परेको छैन ।’

प्रतिक्रिया दिनुहोस