काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सचिवालयले काठमाडौं महानगरपालिकाभित्र कबाड व्यवसाय सञ्चालनमा अवरोध नगर्न अनुरोध गरेको छ ।
काठमाडौं महानगरपालिकाले कबाड व्यवसायका कारण वातावरणमा प्रतिकूल असर परेको, आगलागीका घटना बढेको र चोरीका घटनामा वृद्धि भएको जस्ता आरोप लगाएर व्यवसाय सञ्चालनमा अवरोध गरेको भन्दै व्यवसायीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
कबाड व्यवसायी समाज नेपालले मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि उनको सचिवालयले विज्ञप्ति जारी गर्दै विधि तथा प्रक्रियाअनुसार सम्बन्धित सरकारी निकायमा दर्ता गरी करसमेत तिर्ने दायित्व निर्वाह गर्दै आएका कबाड व्यवसायी र यस व्यवसायमा आश्रित करिब एक लाख श्रमिकलाई रोजगारविहीन बनाउने गरी महानगरपालिकाले गरेको भनिएको सो व्यवहार चिन्ताजनक र दुर्भाग्यपूर्ण रहेको बताएको छ ।
‘व्यवसायलाई सुरक्षित, जोखिमरहित तथा मर्यादित बनाउन मापदण्ड निर्धारण गरेर कडाइका साथ पालना गराउने विकल्प रहँदा पनि घरघर पुगेर पुनः प्रयोगयोग्य फोहोर संकलन, निर्यात र प्रशोधन गर्ने कबाड व्यवसायीलाई असुरक्षा तथा ध्वनी प्रदूषणका नाममा विस्थापित गराउने प्रयास देशको कुनै पनि ठाउँमा स्वतन्त्रतापूर्वक व्यवसाय सञ्चालन गर्ने हकअधिकारको उल्लंघन र अतिक्रमण हो । स्थानीय सरकारबाट यस्तो गैरकानूनी कारबाहीको अपेक्षा गर्न सकिँदैन’, विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं महानगरपालिकाको कदम निश्चित भूगोल, क्षेत्र र समुदायमा व्यक्तिको बहुसंख्यक सहभागिता रहेको भन्ने दुराग्रहबाट प्रेरित रहेको टिप्पणी गरिएको छ ।
‘काठमाडौं महानगरपालिकाको सो कार्यले नागरिकबीच विग्रह, बेमेल र असन्तुष्टि उत्पन्न गराई अनावश्यक द्वन्द्वको बीजारोपण गर्न सक्छ भन्ने विषयमा समेत महानगरपालिका नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छु’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ कबाड व्यवसायीको सम्मान, मर्यादा र जीविकोपार्जनप्रति सदाशयता प्रकट गर्दै सरल तथा सहज ढंगले कबाड व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकासँग आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह
तत्काल प्रहरी समायोजन ऐन जारी गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
मधेस प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्रीको प्रतिबद्धता
कांग्रेस र एमालेले समर्थन गरेपछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत