भ्रम चिर्न सहकारीहरूले आफू ठिक रहेको सन्देश दिनुपर्छ : मन्त्री अधिकारी

सफल खबर संवाददाता

सोमबार, २२ पुस २०८१, १३ : ४३
भ्रम चिर्न सहकारीहरूले आफू ठिक रहेको सन्देश दिनुपर्छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिंजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले सहकारीबारे फैलाइएका हल्लाहरू मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको तर्क गरे ।‘अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरू फैलिरहेको छ । हामी आफ्नो ठाउँमा ठिक छौं भन्ने सन्देश दियौं भने कसैको भ्रमले केही गर्दैन,’ उनले भने ।

सहकारीहरूले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्नेगरी काम गरे सबै सहकारीहरू एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सकिने उनले बताए ।

मन्त्री अधिकारीले छिमेकी मुलुकहरूले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेकोमा जोड दिए । ‘हाम्रो भूगोल, माटो र चेतना अनुसारका योजनाहरू ल्याउनुपर्छ र छिमेकी मुलुकहरूले गरेको प्रगति उन्नति र सहकारी क्षेत्रमा गरेका प्रगतिहरूलाई अनुशरण गर्दै योजना बनाएर अगाडि बढियो भनेमात्रै सफल हुनसक्छौं,’ उनले भने ।

सहकारी ठिक छैनन् भन्ने एउटा तप्कालाई सहकारीहरूले व्यवहारबाटै जवाफ दिनुपर्ने मन्त्री अधिकारीले बताए ।‘हामीले सहकारीमा गरेको बचत नै परिचालन गरेका हुन्छौं, त्यसले बचतकर्ताको आर्थिक स्थिति उकास्न मद्दत गर्छ’ उनले भने, ‘त्यसैले सहकारी चाहिन्छ । सहकारीमा फिंजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ ।’

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस