सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०८२, ११ : ०८
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राखेका छन् । चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

गृहमन्त्री रमेश लेखकले घटनाबारे चासो राख्दै छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका छन् । पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका आरोप छ । उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् ।

जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको सिरहाका एसपी अनन्तराम शर्माले  बताए । उनले भने, ‘जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारले पीडितले दिएको जाहेरी ढिला दर्ता गरेको पाइएको छ । पुस १० मा मेडिकल गरेपनि जाहेरी दर्ता ढिला गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एकजना अधिकृतले बताए ।

करणी उद्योगमा संलग्न दुईजना फरार छन् । उनीहरु भारत भागेको आशंका गरिएकोछ  । 

प्रतिक्रिया दिनुहोस