एसईईको उत्तरपुस्तिका परीक्षण गर्न गएनन् शिक्षक, नतिजा ढिलो हुने

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०८२, १० : ४४
एसईईको उत्तरपुस्तिका परीक्षण गर्न गएनन् शिक्षक, नतिजा ढिलो हुने

काठमाडौं । शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ । तर शिक्षकहरु कपी जाँच्न गएका छैनन् ।

‘उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगेको छ । शिक्षक कुरिरहेका छौं,’ परीक्षा नियन्त्रक भट्टराईले भने, ‘उत्तरपुस्तिका परीक्षण शिक्षकले गर्ने काम हो । अरुले गर्न पनि मिल्दैन।’उत्तरपुस्तिकासँग विद्यार्थीको भविष्य जोडिएको बताउँदै उनले शिक्षकहरु छिट्टै कपी जाँच्न आउने विश्वास व्यक्त गरे । ‘शिक्षकहरू छिटै फर्किनु हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको थियो । तर शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा प्रकाशन पनि ढिलो हुने भएको छ ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेको छ । विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । साथै शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो ।

तर सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ ।

महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन कमिटीको संयोजक नानुमाया पराजुली ऐन जारी हुने ग्यारेन्टी नभएको बताउँछिन् । ‘ऐन जारी गर्ने भन्नुभयो तर गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन । विषयगत समितिको सभापति टुंगो लगाउन अझै डेढ महिना लाग्छ भन्नुहुन्छ’, उनले शंका व्यक्त गर्दै भनिन्, ‘सरकार ठिक्क पारेर अधिवेशन बोलाउने । तर यो अधिवेशनमा पेस हुन्छ भन्ने ग्यारेन्टी छैन ।’

आन्दोलनको नेतृत्व गरिरहेको महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरुलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस