वातावरणीय सन्तुलन कायम राख्न सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

सफल खबर संवाददाता

सोमबार, १५ पुस २०८१, ११ : ३४
वातावरणीय सन्तुलन कायम राख्न सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न प्रदेश सरकारले हरेक क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । पाल्पाको वसन्तपुरमा प्राणी शास्त्रसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताए ।

'वातावरणीय सन्तुलन जरुरी छ । यसका लागि लुम्बिनी प्रदेशमा यहाँहरूले गर्ने खोज अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउँछ,' उनले भने, 'लुम्बिनी प्रदेश जैविक विविधताले धनी छ । यसलाई बचाइराख्नुपर्छ । लोपोन्मुख जीवजन्तुको संरक्षण जरुरी छ । मानिस जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ ।

विकास र समृद्धिको आधारका रूपमा वातावरणीय क्षेत्र रहेकाले यसको संरक्षण र सदुपयोगबाट दिगो विकासको आधार निर्माण गर्न सकिने उनले बताए । प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जोलोजि शुरू भएको छ ।

प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरूस्लाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको नेपाल जोलोजिकल सोसाइटीका अध्यक्ष प्राध्यापक प्राडा महेन्द्र महर्जनले बताए ।

सम्मेलनमा जैविक विविधता र रिस्तीस्थितक प्रणाली, मानव वन्यजन्तु द्वन्द्व र न्यूनीकरणलगायतका विषयमा छलफल भइरहेको छ ।सम्मेलनमा देशभरका १५० भन्दा बढी प्राणीशास्त्रीहरूको सहभागिता रहेको छ ।​

प्राणीशास्त्री र अनुसन्धानकर्ताहरू लुम्बिनी केबलकारको यात्रामार्फत माथिल्लो स्टेसन वसन्तपुरमा सम्मेलन गरी  प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर दर्शनसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस