नेपाल प्रिमियर लिग

उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै

सफल खबर संवाददाता

शनिबार, ०६ पुस २०८१, ०८ : ०३
उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ। 

एनपीएलको सुरुवातमा दुवै टोलीले लगातार समान चार खेलमा विजयी भएपछि नै सुदूरपश्चिम र जनकपुरलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो। अन्ततः यी दुई टोली नै उपाधिका लागि भिड्ने भएका छन्। 

एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन्। ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ।

सुदूरपश्चिमले लिगचरणमा एक मात्रै पराजय व्यहोरेको थियो भने जनकपुर दुई खेलमा पराजित भएको थियो। सुदूरपश्चिम अहिलेसम्म एक खेलमा मात्रै पराजित छ। तर जनकपुर लिगचरणमा दुई र क्वालिफायरमा एक गरी तीन खेलमा पराजित भएको छ। 

दुवै टोली चितवनसँग पराजित भएका थिए। जनकपुरले बाँकी दुई खेल सुदूरपश्चिमसँगै हारेको छ। 

पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको सुदूरपश्चिमले दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्यो। लुम्बिनीलाई ४५ रनले पराजित गरेपनि चितवनसँग भने भौथो खेलमा ३३ रनले पराजित भएको थियो। 

सुदूरपश्चिमको अहिलेसम्मिको एकमात्रै हार यही हो। जनकपुरलाई ७२ रनले हराएपछि पोखरालाई ५ विकेटले पराजित गर्यो। अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको थियो। क्वालिफायरमा पनि जनकपुरमाथि समूह चरणकै नतिजा दोहो¥याउँदै फाइनलसम्मको सहज यात्रा तय गरेको छ। 

जनकपुरले पनि उद्घाटन खेलमा विराटनगरलाई नै ८ विकेटले पराजित गरेको थियो। त्यसपछि लगातार तीन खेलमा विजयी भयो। कर्णालीलाई पनि ८ विकेटले नै पराजित गरेको जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको थियो। 

लुम्बिनीसँग १ रनको रोमाञ्चक जित हात पारे पनि पाँचौँ खेलमा सुदूरपश्चिमले जनकपुरको अपराजित यात्रा तोडेको थियो।