एनपीएलमा हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?

रासस

विहीबार, २० मंसिर २०८१, ११ : ४२
एनपीएलमा हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?

काठमाडौँ । शनिबारदेखि काठमाडौँमा सुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)बुधवारसम्म आइपुग्दा सात वटा खेल भए । एनपिएलमा पहिलो तथा उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोज, तेस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स, चौथो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स र पाचौँ खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भयो । त्यस्तै, आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच पनि खेल भयो ।

सात खेलमध्ये दुई/दुई खेल खेलेका जनकपुर बोल्ट्स र चितवन राइनोजले दुवै खेलमा जीत हात पारे । सुदूरपश्चिम रोयल्सले एक खेल जित्यो । विराटनगर किङ्ग्स तीन वटा खेल खेल्दा दुई वटामा हार व्यहोर्यो ।

कर्णाली याक्स दुई वटै खेलमा पराजित हुँदा एक खेल मात्रै खेलेको पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले पहिलो खेलमै पराजय भोग्न पुगे । काठमाडौँ गोर्खाजले २ खेलमा एक खेल जित्यो भने एक खेलमा पराजित भयो ।

एनपिएलका लागि ८ फ्रेन्चाइज टोलीले ‘लक्की ड्र’ मार्फत मार्की खेलाडी अनुबन्ध गरेका थिए । लक्की ड्रमार्फत काठमाडौँले बलर करण केसी, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा पाएको थियो ।

त्यस्तै, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख, कर्णालीले तीव्र गतिका बलर सोमपाल कामी र सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयरका रूपमा पाएको थियो । मार्की खेलाडीले हरेक सिजनमा समान २० लाख रुपैयाँ पाउने गरी टिमले उनीहरूसँग तीन वर्षको सम्झौता गरेको थियो ।

एनपिएलमा अहिलेसम्म भएका सात खेलमा सबै टोली खेलिसकेका छन् । हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?

आसिफ शेख, जनकपुर बोल्ट्स

जनकपुरका कप्तान अनिल शाह भए पनि मार्की खेलाडी आसिफ शेख हुन् । आशिफ मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले जारी एनपिएलमा दुई खेल खेलेको छ । जनकपुरले दुवै खेलमा विजय हासिल गरेको छ ।

एनपिएलको पहिलो तथा उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेटले हरायो । तर, पहिलो खेलमा आशिफ शेखको प्रदर्शन खासै गतिलो भएन । उनी शून्य रनमै पभेलियन फर्किनु परेको थियो ।

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा आइतबार कर्णाली याक्सको सामना गर्‍यो । कर्णालीविरुद्ध जनकपुर बोल्ट्सले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ सेखले सानदार प्रदान गरे । उनीहरूले ८४ रनको साझेदारी गरे । अनिल र आसिफले गरेको साझेदारी जारी एनपिएलमा दुवै ओपनरले गरेको अहिलेसम्मको ठूलो साझेदारी पनि बन्यो ।

जनकपुरको जितमा आशिफले ३६ रनको योगदान दिएका थिए । उनले २९ बलमा दुई चौका र दुई छक्काका मद्दतले ३६ रन बनाए ।

कुशल मल्ल, चितवन राइनोज

नेपाली राष्ट्रिय टोलीका सदस्य कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोजले आफ्नो दुई खेलमध्ये दुवै खेलमा जित हात पारेको छ । पहिलो खेलमा चितवनले काठमाडौँ गोर्खाजलाई ५ विकेट हरायो । काठमाडौँसँगको खेलमा मल्लले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । उनी ११ रनमा आउट हुन पुगे । तर, बलिङमा भने एक विकेट लिन सफल भए ।

चितवनले आफ्नो दोस्रो खेलमा मंगलबार पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हरायो । कप्तानले पोखराविरुद्ध ३८ रनको योगदान दिए । सो क्रममा मल्लले ४ छक्का र एक चौकासमेत प्रहार गरे । तर, पोखराविरुद्ध २ ओभर बलिङ गरेका उनले एक विकेट पनि झार्न सकेनन् । उल्टै, ११ रन खर्चिन पुगे ।

सन्दीप लामिछाने, विराटनगर किङ्ग्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने विराटनगर किङ्ग्सको मार्की खेलाडी हुन् । सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्ग्सले जारी एनपिएलमा तीन खेल खेलेको छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किङ्ग्स ८ विकेटले पराजित भयो । यो खेलमा सन्दीपले जनकपुरविरुद्ध ७ रन मात्रै प्रहार गरे । तर, बलिङतर्फ भने जम्न सकेनन् । उनले जनकपुरको एक विकेट पनि झार्न सकेनन् ।

विराटनगर किङ्ग्स आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो अन्तरले हार्न पुग्यो । यो खेलमा पनि सन्दीपको प्रदर्शन खासै गतिलो हुन सकेन । सुदूरपश्चिमविरूद्ध ब्याटिङतर्फ ८ रन प्रहार गर्दा बलिङतर्फ एक विकेट पनि आफ्नो नाममा दर्ता गर्न सकेनन् ।

यस्तै, तेस्रो खेलमा भने विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । यो खेलमा पनि मार्की खेलाडी सन्दीप न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ । लुम्बिनीविरुद्ध ब्याटिङ तर्फ एक रनमै आउट हुँदा बलिङतर्फ भने एक विकेट लिन सके ।

सोमपाल कामी, कर्णाली याक्स

जारी एनपिएलमा दुई खेल खेलेको कर्णाली याक्सको प्रदर्शन पनि खासै गतिलो देखिएन । कर्णाली याक्सले दुई खेलमा दुवै खेल हार्न पुगेको छ । पहिलो खेलमा कर्णाली याक्स जनकपुरसँग ८ विकेटले पराजित हुन पुग्यो । यो खेलमा मार्की खेलाडी कामीको प्रदर्शन सन्तोषजनक नै रह्यो । उनले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिएका थिए । तर, बलिङतर्फ भने जम्न सकेनन् ।

दोस्रो खेलमा कर्णाली याक्स काठमाडौँ गोर्खाजसँग तीन विकेटले पराजित हुन पुग्यो । यो खेलमा कामीले ब्याटिङ नगरे पनि काठमाडौँविरुद्ध एक विकेट लिन भने सफल भए ।

करण केसी, काठमाडौँ गोर्खाज

जारी एनपिएलमा काठमाडौँ गोर्खाजले दुई खेल खेलेको छ । जसमध्ये एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार भोगेको छ । पहिलो खेलमा काठमाडौँ गोर्खाज चितवन राइनोजसँग ५ विकेटले हार्न पुग्यो ।
पहिलो खेलमा मार्की खेलाडी केसी न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ तिर । केसीले काठमाडौँ गुर्खाजविरूद्ध ब्याटिङतर्फ एक रन बनाएर आउट भएका थिए भने बलिङतर्फ भने जम्न सकेनन् ।

यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गर्‍यो । यो खेलमा केसीको प्रदर्शन सानदार नै थियो । काठमाडौँविरुद्ध केसीले ब्याटिङतर्फ १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाएका थिए भने बलिङतर्फ एक विकेट लिन सफल भए ।

दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स

जारी एनपिएलमा एक खेल खेलेको सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै सानदार प्रदर्शन गर्‍यो । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्‍यो ।
यो खेलमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको प्रदर्शन सानदार नै रह्यो । उनले अर्ध शतक पारी खेले । विराटनगरविरुद्ध सुदूरपश्चिमका ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाएका थिए ।बलिङतर्फ भने एक विकेट हात पार्न सकेनन् । उल्टै २ ओभरमा ९ रन खर्चिन पुगे ।

कुशल भुर्तेल, पोखरा एभेन्जर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर समेत रहेका कुशल भुर्तेल एनपिएलको टोली पोखरा एभेन्जर्सका मार्की खेलाडी हुन् । तर, जारी एनपिएलमा पोखराको सुरुवात राम्रो हुन सकेन ।

एक खेल खेलेको पोखराले पहिलो खेलमै चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले हार्नु पर्‍यो । यो खेलमा मार्की खेलाडी कुशल भुर्तेल पनि चल्न सकेनन् । राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगे । बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिए । तर, खेलमा उनले तीन वटा क्याच भने समाते ।

रोहितकुमार पौडेल, लुम्बिनी लायन्स

एनपिएलको टोली लुम्बिनी लायन्सका मार्की खेलाडी रहेका रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पनि हुन् । रोहित नेतृत्वको लुम्बिनी लायन्सले एनपिएलमा एउटा मात्रै खेल खेलेको छ । पहिलो खेलमै लुम्बिनी लायन्स विराटनगरसँग २ विकेटले पराजित भयो ।

लुम्बिनीका लागि पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । तर, बलिङ भने गरेनन् ।

यसैबीच नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहीबार दुई वटा खेल हुँदै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा अहिले पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीचको खेल जारी छ ।

यस्तै दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो। पोखराको यो दोस्रो खेल हो।