संसदीय समितिका सभापतिले मागे पुल्चोकमा आवास

सफल खबर संवाददाता

बुधबार, १९ मंसिर २०८१, १२ : ०२
संसदीय समितिका सभापतिले मागे पुल्चोकमा आवास

काठमाडौं । संसदीय समितिका सभापतिहरूले आवास सुविधा माग गरेका छन् । हाल संसदीय समितिका सभापतिले आवास सुविधा अन्तर्गत २५ हजार प्राप्त गर्दछन् । यसको सट्टा आवास सुविधा नै दिनु उपयुक्त हुने बताउँछन् महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साह ।

मंगलबार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को आर्थिक सहयोगमा संघीय संसद सचिवालयले ललितपुरको एक होटलमासभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र संसदीय समितिका सभापतिहरूबीच अन्तरक्रियात्मक कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रममा बोल्दै सभापति साहले यस्तो माग गरेका हुन् ।सेवा सुविधामा सरकारले ख्याल गर्नुपर्ने र सेवा सुविधा प्रयाप्त भएको अवस्थामा मात्रै संसदीय समितिका काम जनताले अपेक्षा गरे अनुसार गर्न सकिने उनले बताए ।

संसदीय समितिका सभापतिको मर्यादा मन्त्रीसरह बनाउनुपर्ने र त्यसपछि पुल्चोकस्थित पुरानो मन्त्री निवासलाई संसदीय समिति सभापतिको आवास बनाउनुपर्ने उनको माग छ । आवस उपलब्ध गराएपछि समिति सभापतिलाई आवास भत्ता अन्तर्गत दिइने २५ हजार कटौती गरे पनि हुने उनको आग्रह छ ।

अहिले दिँदै आएको २५ हजार आवास भत्ता अपुग भएको उल्लेख गर्दै उनले भत्ता थप्नु भन्दा आवास सुविधा नै उपलब्ध गराउनु उचित हुने बताए ।

कार्यक्रममा सभापति साले भनेका थिए, ‘पुल्चोकमा मन्त्री निवास खाली भएको छ । बरु हामीलाई २५ हजार चाहिँदैन । पूरानो मन्त्री निवासलाई संसदीय समितिका सभापतिको निवास बनाऔं । यसमा सबैले पहल गरौं ।’संसदीय समितिका सभापतिहरूको यस्तो मागमा सभामुख देवराज घिमिरे मौन रहे ।

प्रतिक्रिया दिनुहोस