नीतिगत सुधारतर्फ सरकारले उपलब्धि प्राप्त गर्‍यो : मुख्यमन्त्री लामा

सफल खबर संवाददाता

बुधबार, २८ कार्तिक २०८१, १५ : २०
नीतिगत सुधारतर्फ सरकारले उपलब्धि प्राप्त गर्‍यो : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकार नीतिगत सुधारमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले विकास तथा सुशासनका लागि नीतिगत रूपमा प्रणाली विकास गरिरहेको उनले बताए ।

बुधवार पत्रकार सम्मेलनमार्फत सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले संस्थागत विकास तथा नीति निर्माणमा महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको बताए ।

नीतिगत सुधारमा प्रदेश सरकारको १०० दिनमा उल्लेख्य काम गरेको उनले दाबी गरे । उनका अनुसार सो अवधिमा सरकारले ३ वटा ऐन जारी गर्नुको साथै ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि’ को दीर्घकालीन सोचसहित सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको छ ।

मन्त्रालय तथा निकायको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन मुख्यमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन करार गरी प्रगति समीक्षा कार्यको थालनी गरिएको उनले बताए ।

प्रदेश सरकारका मन्त्रालय, निकाय तथा कार्यालयहरूमार्फत सबै जिल्लाबाट सार्वजनिक सेवा प्रवाहको कार्यलाई निरन्तरता प्रदान गरिएको उनको भनाई छ । भौतिक पूर्वाधार विकासको कार्यलाई थप प्रभावकारी बनाउन सरकारले भूमिका खेलेको मुख्यमन्त्री लामाले बताए ।

‘प्राकृतिक विपद्को समयमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मत सम्भारका लागि द्रुत प्रतिकार्य टोलीको गठन गरिएको छ भने विपद्को कारण क्षतिग्रस्त हेटौँडा काठमाडौँ जोड्ने मुख्य ३ प्रादेशिक सडक र विभिन्न जिल्लाका सडकहरूमा सवारी आवागमन सुचारु गरिएको छ’ उनले भने– ‘प्रदेश सरकारले समस्या र चुनौतीहरूका बिच शासकीय व्यवस्था, विकास निर्माण तथा सेवाको प्रभावकारिता कायम गरेको छ ।’ 

प्रतिक्रिया दिनुहोस