सीमा विवाद समाधान गर्न भारत र चीन तयारः सेना फिर्ता र गस्ती व्यवस्थापनमा सहमत

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १६ : १९
सीमा विवाद समाधान गर्न भारत र चीन तयारः सेना फिर्ता र गस्ती व्यवस्थापनमा सहमत

काठमाडौं। भारत र चीनबीच विवादित सीमा क्षेत्रबाट दुवै तर्फका सैनिक फिर्ता गर्ने ‘महत्त्वपूर्ण सहमति’ भएको छ ।चार वर्षभन्दा बढी समयदेखि भारत र चीनबीचको सीमा विवाद उत्कर्षमा पुगेको थियो ।

अहिले दुवै पक्षले विवादित क्षेत्रबाट ५० देखि ६० हजारसम्म सैनिक फिर्ता गर्ने सहमति जनाएको भारतीय विदेशसचिव विक्रम मिस्रीले जनाएका छन् ।भारतीय र चिनियाँ कूटनीतिक तथा सैन्य वार्ताकारहरू विभिन्न मञ्चमा निरन्तर सम्पर्कमा रहेको मिस्रीको भनाइ छ ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ’वास्तविक नियन्त्रण रेखा (एलएसी) मा व्यवस्थित गस्तीको व्यवस्था गर्ने सहमतिमा हामी पुगेका छौं । यो सहमतिले ४ वर्षअघि उत्पन्न समस्या समाधान गर्न र तनावपूर्ण क्षेत्रबाट सेना फिर्ता गर्ने मार्ग खोलिदिएको छ र यसलाई कार्यान्वयन गर्न अब हामी थप कदम चाल्दैछौं ।’

गत महिना चिनियाँ रक्षा मन्त्रालयले भारत र चीनले पूर्वी लद्दाखको तनावपूर्ण क्षेत्रहरूबाट सेना फिर्ता गरेर मतभेद घटाउन केही सहमति भएको जनाएको थियो । चिनियाँ विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक ली जिनसङले एक महिनाअघि भारतका राजदूत प्रदीपकुमार रावतसँग भेट गरेका थिए ।

द इन्डियन एक्सप्रेसले चिनियाँ रक्षा मन्त्रालयको वक्तव्य र भारतीय राजदूतसँगको भेटवार्तामा दुवै पक्षले पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखामा बाँकी रहेका मुद्दा समाधानमा महत्वपूर्ण प्रगति गरेको भन्दै एक महिनाअघि नै समाचार लेखेको दाबी गरेको छ । 

अहिले दुवै पक्षले अप्रिल २०२० को स्थितिलाई आधार बनाएर समाधान खोज्न सहमति गरेका छन् र अरुणाचल प्रदेशमा रहेका बाँकी समस्याहरूलाई पनि सम्बोधन गर्ने योजना बनाएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

स्रोतको हवाला दिँदै इन्डियन एक्सप्रेस लेख्छ, ’यसले भारतीय सैनिकहरूका लागि केही क्षेत्रमा गस्तीका लागि पुनः पहुँच पाउने संकेत गर्छ । ती क्षेत्रहरू यसअघि चिनियाँ सैनिकको उपस्थिति वा बफर जोनका कारण अवरुद्ध भएका थिए ।’

अहिले एलएसीमा तैनाथ सैनिक अझै सतर्क अवस्थामा छन् । उच्च सैनिक अधिकारीहरूले उनीहरू दोहोरो संघर्षबाट बच्न प्रयास गरिरहेको र विश्वासको वातावरण कायम राख्न खोजिरहेको बताएका छन् । विश्वास निर्माण गर्दै जाने प्रयासका रुपमा दुवै पक्षका स्थानीय कमान्डरहरू नियमित भेटघाट गरिरहेका छन् ।

गलवान उपत्यका, पाङ्गोङ–त्सोको उत्तर र दक्षिण किनारा, गोग्रा–हट स्प्रिङ्स क्षेत्रका केही भू–भागलाई बफर जोन बनाएर समस्या समाधान गर्ने प्रयास गरिएको द इन्डियन एक्सप्रेसको दाबी छ । तर देप्साङ्ग मैदान र देमचोकका पुराना मुद्दाहरू अझै बाँकी रहेकाले त्यहाँ भारतीय सैनिकहरू गस्ती क्षेत्रमा पुग्न सकेका छैनन् ।

गत सेप्टेम्बर १२ मा भारतीय विदेशमन्त्री एस जयशंकरले सेनाको फिर्तीका लागि देखिएको समस्या करिब ७५ प्रतिशत समाधान भइसकेको दाबी गरेका थिए । सीमामा बढ्दो सैन्यीकरण दुवै देशका लागि ठूलो समस्या रहेको उनको भनाइ थियो ।

त्यसलगत्तै चिनियाँ विदेश मन्त्रालयले गलावान उपत्याकासहित पूर्वी लद्दाखका चार स्थानबाट सैनिकहरू फिर्ता भइसकेको र सीमा क्षेत्रको स्थिति स्थिर रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस