हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मेवारी

सफल खबर संवाददाता

मंगलबार, २९ असोज २०८१, १२ : ३१
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मेवारी

काठमाडौँ  । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । आफू नफर्किउन्जेल साम्पाङले २३ असोजमा वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न भनेका छन् । उनले वडाध्यक्षलाई कामको जिम्मेवारी नै बुँदागत रुपमा तोकेरै पत्र दिएका छन् ।

पत्रमा आर्थिक सहयोग एक दिनको ५ हजार रुपैयाँमात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने सर्तसहित कार्यबाहकको जिम्मेवारी दिइएको छ ।बेलायतमा रहेका नेपालीको निम्तोमा आफू बेलायत जान लागेका उनले त्यहाँका नेपाली समुदायसँग भेटघाट गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस